जनगुनासो सुन्न प्रदेश ७ मा ‘हेलो सिएम’ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनगुनासो सुन्न प्रदेश ७ मा ‘हेलो सिएम’



कैलाली । सरकारी सेवाबारे जनगुनासो सुन्न र सम्बोधन गर्न प्रदेश ७ मा ‘हेलो सिएम’ कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रमको सुरुवात गरेका छन् ।

सर्वसाधारणले पैसा नलाग्ने टेलिफोन (टोल फ्री) नम्बर
(फोन नं. १६६०–९१५२७२३) मा फोन गरेर प्रदेश सरकारसमक्ष आफ्ना गुनासा र सुझाब राख्न सक्नेछन् । हेलो सिएम कार्यक्रमको सुरुवात गरेपछि मुख्यमन्त्री भट्टले डोटीको शिखर नगरपालिका– २ का करनजंग शाहीले गरेको पहिलो फोनमा कुराकानी गरे । शाहीले प्रदेशको अस्थायी राजधानी धनगढीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको गुनासो गरेका थिए ।

उनीसँग मुख्यमन्त्री भट्टले ट्राफिक व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता गरे । त्यसलगत्तै मुख्यमन्त्री भट्टले ट्राफिक प्रहरीसँग त्यस विषयमा छलफल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिहान ७ देखि बेलुकी ७ बजेसम्म सर्वसाधारणले गुनासो गर्न सक्नेछन् । यसका लागि प्रदेश सरकारले कार्यविधि तयार गरेको छ । चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा पनि यो कार्यक्रम समावेश थियो । सर्वसाधारणले दुर्घटना, विपद्सम्बन्धी घटना र उद्धार, प्रदेशस्थित सार्वजनिक निकायको सेवा–सुविधा, सार्वजनिक निकायमा सेवा–सुविधा पाउन परेको अप्ठ्यारो टिपाउन सक्नेछन् ।