विश्वकपमा जर्मनीको समर्थन गर्न जग्गा बेचेपछी... - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

विश्वकपमा जर्मनीको समर्थन गर्न जग्गा बेचेपछी…



(एजेन्सी) – फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५.५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । अम्जाद हुसेन नाम गरेका समर्थकले २००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका हुन् । त्यो वर्ष जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका हुन् ।

हरेक विश्वकपमा उनले जर्मनीको झण्डाको आकार बढाउंदै आएका छन् । यसपटक को विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठुलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्रि गरेका छन् । उनले यो बर्ष पहिला भन्दा झण्डाको आकार २ किलोमिटरले बढाएका छन् ।

६९ बर्षिय अम्जादले बंगलादेशको मगुरामा सयौं जर्मनी समर्थक र अन्य फुटबल समर्थकको अगाडि बिद्यार्थीको सहयोगमा सो झण्डा अनावरण गरेका हुन् । सो समारोहमा उपस्थित भएका मगुरा पुलिसका उप प्रमुख तरिकुल इस्लामले भने, ‘ ५.५ किलोमिटर लामो सो झण्डाले विद्यालयको मैदान कयौं पटक बेरेको थियो । अम्जादले आफ्नो सम्पत्ति बेचेर झण्डा बनाएका छन् । उनि एक सच्चा जर्मन समर्थक हुन् । ’

बंगलादेश क्रिकेट धेरै हेरिने देशमा पर्दछ । यद्दपी, हरेक ४ वर्षमा आउने विश्वकप फुटबललाई समेत यहाँ धेरै महत्व दिने गरिन्छ । ब्राजिल र अर्जेन्टिनाको समर्थन बंगलादेशमा धेरै रहेको बताइन्छ । यदि विश्वकप फुटबलमा जर्मनी दोस्रो चरणमा पुगेमा अम्जादले सो झण्डाले स्थानीय क्षेत्रमा रहेको रंगशालालाई घेर्ने निर्णय घोषणा गरेका छन् ।

‘मलाई जर्मन फुटबल मनपर्छ किनकी उनीहरु धेरै राम्रो फुटबल खेल्छन्,’ अम्जादले भने । अम्जादको जर्मनीप्रति को समर्थनलाई प्रशंसा गर्दा २०१४ मा उनलाई जर्मनीको राष्ट्रिय टोलीको आजीवन सदस्य समेत बनाइएको थियो । जर्मनी राजदूतावासका एक कर्मचारी तमारा कबिरले भने, ‘हामी केहि समय घाम लागिरहेको बेला झण्डाको मुनि हिडिरहेको थियौं । यो हाम्रो अहोभाग्य थियो । मैले आजसम्म यति लामो झण्डा भएको सुनेको छैन र मलाई लाग्छ यो नै सबैभन्दा लामो छ ।’