काङ्ग्रेसको जागरण अभियान बन्यो राहत र उद्धार अभियान
काठमाडौँ –
कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले जनजीवन प्रभावित पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त्यहाँ जारी पार्टीको जागरण अभियानलाई राहत र उद्धारमा रूपान्तरण गर्न निर्देशन दिएको छ ।
‘‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रम अन्तर्गत जेठ २५ गते सबै जिल्लाहरूमा ऱ्यालीसहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा हिजो (बिहीबार) साँझ आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवम् भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात् गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्वनिधारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रूपान्तरण गर्न तथा जिल्लामा तोकिनुभएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरूलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै विज्ञप्तिमार्फत् नेपाली काङ्ग्रेस आग्रह गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ। सो विज्ञप्ति मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको हो।