प्रचण्डको प्रस्ताव जगन्नाथले गरे अस्वीकार, देउवाले बोलाउँदा भेट्न मानेनन् - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

प्रचण्डको प्रस्ताव जगन्नाथले गरे अस्वीकार, देउवाले बोलाउँदा भेट्न मानेनन्



भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उठेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले सभापति शेरबहादुर देउवाको निम्तो अस्वीकार गरिदिएका छन्।

बागी उम्मेदवारीबाट पछि हट्न तीव्र दबाब परिरहेका बेला पौडेललाई बुधबार मात्रै देउवाले फोन गरेर काठमाडौं आउन भनेका थिए।

तर, पौडेलले भरतपुरका कांग्रेस कार्यकर्ता र मतदाताको आग्रहमै आफूले उम्मेदवारी दिएको बताउँदै बरु रेनुलाई पछि हटाउन जवाफ दिएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। उहाँले काठमाडौं आउनुस् भन्नुभयो’, उनले भने, ‘मैले अहिले म आउन असमर्थ छु भनेँ।’

उनले आफूलाई बागीबाट पछि हट्न आग्रहसहित काठमाडौं आएर कुरा मिलाउन भने पनि नमानेको बताएका छन। ‘त्यसपछि उहाँले अब सबै कुरालाई हेरेर बोलाएको बताउनु भयो’, उनले थपे, ‘मैले म आउन सकिँन, अहिलेलाई भनेको छु।’

पौडेललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि टेलिफोन गरेका छन्।

मंगलबार सुटुक्क भरतपुर पुगेका प्रचण्डसँग आफ्नो भेट नभएको पनि उनले बताए। ‘होइन, उहाँसँग मेरो भेट भएको छैन। उहाँले मलाई टेलिफोन गर्नुभएको थियो’, उनले भने, ‘यहाँ तपाईंले छाडेर अवस्था सहज बनाउनुपर्यो भन्नुभयो।’

तर उनले उल्टै रेनुलाई पछि हटाएर आफ्ना लागि सहज बनाइदिन आग्रह गरेको बताए। ‘तपाईंहरुले पनि त्यो कुरा छाडेर मलाई सहज बनाइदिँदा हुन्छ भनेर मैले आफ्नो कुरा राखेको छु’, उनले भने, ‘म पछि हट्दिँन, अब रेनुले मलाई छाडिदिनुपर्छ।’