इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ



हिमाल पोष्ट / भक्तपुर, १५ मङ्सिर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ ।

इँटा भट्टामा बालश्रमिकका रुपमा कार्यरत रोल्पा जुगार–५ घर भएका १४ वर्षीय थमन परियार, सोही ठाउँका १४ वर्षीय गणेश परियार, १४ वर्षीया मिनु परियार, १५ वर्षीय दिनु परियार, १२ वर्षीया सुष्मा परियार, रोल्पा गैरीगाउँ– ५ का १६ वर्षीय शिवराज घर्तीको उद्धार गरिएको हो ।

भट्टाका नाइके रोल्पा जिल्ला जगार–५ स्थायी घर भएका लोकबहादुर नेपालीले बालबालिकाको परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ल्याएर इँटा भट्टामा श्रममा लगाउने गरेको पाइएपछि भक्तपुर प्रहरीले नेपालीलाई पक्राउ गरेको छ ।

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महिला विकास कार्यालय भक्तपुर, मानव अधिकारसँग सम्बन्धित निकायका प्रतिनिधिसहितको रोहवरमा ती बालबालिकाको उद्धार गरिएको हो ।

गाउँमा परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ललाइफकाइ गरेर इँटा भट्टा सञ्चालकसँग बढी रकम लिएर बालबालिका श्रममा लगाउने गरेको पाइएको केन्द्रका सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

बालबालिकाका परिवारले प्रहरी र केन्द्रमा आफ्ना छोराछोरी हराएको उजुरी गरेपछि खोजी गर्नेक्रममा इँटा भट्टामा बालश्रमिकका रुपमा राखेको पाइएको केन्द्रले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरुको परिवारको जिम्मा लगाइने भएको छ । रासस