इटहरीका मेयरलाई पागलखानामा हाल्न माग - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इटहरीका मेयरलाई पागलखानामा हाल्न माग



विराटनगर – नेपाली काङ्ग्रेसकी प्रदेश नं. १ की प्रदेशसभामा सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाहरूलाई अपमानित गरेको जनाइन्।

मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिस्टिक, गर्भ निरोधक औषधि पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ? भनी सांसद कार्कीले प्रश्न गरिन् ।

‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन्, ‘सक्नुहुन्छ भने सुधार गर्नु पऱ्यो, कि पागलखानामा भर्ती गर्न सक्नुपऱ्यो ? नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’

मेयर चौधरीका विवादहरू यति धेरै बाहिरिँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु पऱ्यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरू पनि यस विषयमा चुप हुनुहुन्छ ?’

मेयर चौधरीलाई कार्बाही गर्न नेकपाकै महिला नेतृहरू अघि सर्नु पर्ने उनले बताइन् ।

मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए ।

उनले यौनधन्दामा संलग्न महिलाहरूका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने शृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए ।

मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।