इजरायल र नेपालबीच श्रम सम्झौता, ५ सय कामदार पहिलो चरणमा लैजाने - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

इजरायल र नेपालबीच श्रम सम्झौता, ५ सय कामदार पहिलो चरणमा लैजाने



काठमाडौँ- नेपाल र इजरायलबीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

नेपाल र इजरायलबीच श्रमिक लैजाने र इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था माशाभको तत्वावधानमा इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट हस्ताक्षर गर्नको लागि मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरेर राजदूत शाक्यलाई अख्तियारी दिइसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समार्फत नेपालमा इजरायलबाट कृषि क्षेत्रमा सुधार गर्ने र यसले गर्दा नेपालमा उत्पादन र स्वरोजगार बढ्न समेत बढ्ने बताए ।

इजरायलस्थित नेपाली राजदूतावासका द्वितिय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ । उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण पनि भइरहेको जानकारी दिए ।

सहसचिव घिमिरेका अनुसार नेपालले बुधबार इजरायलसँग भएको श्रम स्वीकृत उल्लेख गर्दै अब अन्य स–साना श्रम सम्बन्धी कामको लागि पनि बाटो खुला भएको बताए । उदाहरणको लागि अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्रमा काम गर्न जाने बाटो खुलेको छ । यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको हो । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । ‘अन्य क्षेत्रमा पनि नेपालीहरु इजरायलमा गएर काम गर्ने बाटो खुलेको छ,’ उनले भने ।

केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो ।

दूतावासका प्रवक्ता घिमिरेले इजरायलको सम्पूर्ण बजारमा काम गर्न जानको लागि नेपालीहरुलाई बाटो खुलेको बताए । उनले अब सेक्टर अनुसार काम गर्न जाने विषयमा दुई मुलुकबीच अक्टोबरमा कार्यान्वयन प्रोटोकलमा नेपालमा सम्झौता हुनेछ । ‘जुन–जुन सेक्टरमा सम्झौता हुने हो । त्यहि सेक्टरको कार्यान्वयन प्रोटोकलमा सम्झौता हुन्छ,’उनले भने,‘उदाहरणको लागि होटल, पूर्वाधार वा अन्य कुन सेन्टरमा काम गर्ने हो, त्यहि सेक्टरमा हताक्षर हुनु पर्छ ।’

सरकारी प्रक्रियामार्फत सन् २०१५ को अगस्टदेखि पाइलट प्रोजेक्टका रूपमा केयर गिभर लैजान थालिएको थियो । संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउने निर्णय गरेपछि २०७३ चैत २२ देखि केयर गिभरसमेत पठाउन बन्द गरिएको थियो । त्यसपछि पाइलट प्रोजेक्ट सफल हुन सकेन । हाल इजरायलमा तीन हजार नेपाली केयर गिभरका रूपमा कार्यरत छन् ।