गठबन्धन ‘अपराधीहरू’को झुण्ड हो- ईश्वर पोखरेल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गठबन्धन ‘अपराधीहरू’को झुण्ड हो- ईश्वर पोखरेल



काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाएका छन्।

शनिबार एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘एमालेको विरोधमा केन्द्रित भएर निर्माण भएको गठबन्धन हो। त्यसको दृष्टिकोण के हो? सिद्धान्त के हो? कार्यक्रम के हो? गन्तव्य के हो? केही छैन। त्यसको एउटै चिज हो, एमालेलाई सिध्याउनु। एमालेलाई सिध्याउनु त्यसको मुख्य उद्देश्य हो।’

पोखरेलले एमालेका नेताहरूले (एमालेको नेतृत्वमा) अर्को गठबन्धन हुन्छ कि हुँदैन भनेर सोध्ने गरेको भन्दै उनले स्थानीय आवश्यकता अनुसार जुनसुकै सम्भव भएको शक्तिसित पनि तालमेल हुनसक्ने बताए।

‘स्थानीय आवश्यकता अनुसार हामीहरूको तालमेल हुनसक्छ। यस हिसाबले हामी जान्छौँ। कहीँ कुन पार्टी होला, कहीँ कुन पार्टी होला, तालमेल हुनसक्छ’, उनले भने।

पोखरेलले क्लियर कुरा गरौँ न भन्दै एमालेले गर्ने तालमेललाई व्याख्या गरे- ‘पार्टीलाई फाइदा हुने हिसाबले गठबन्धन हुन्छ। चुनावमा जित गराउने हिसाबले कुन शक्तिसित कुन ठाउँमा तालमेल गराउँदा उचित हुन्छ, त्यही कुरा हुन्छ। हामी यसको तयारीमा पनि छौँ।’

उनले चुनावमा एमालेले बहुमत ल्याउने दाबी पनि गरे। ‘तपाईंहरूलाई लाग्ला, यो चुनावमा के हुन्छ? म भन्छु, एमालेले बहुमत ल्याउँछ। राजनीति परिप्रेक्ष्यसहित, तथ्यसहित, विवरणसहित, हाम्रा योजनाका आधारमा भन्न सकिन्छ, एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउँछ’, उनले भने, ‘यो तपाईंहरूलाई उत्साहित बनाउन मात्रै भनेको होइन। तथ्यको आधारमा भन्दैछु। हाम्रो योजनाका आधारमा भन्दैछु।’