काठमाडौं-५ बाट ईश्वर पोखरेल चिप्लिने सम्भावना, सहज छैन निर्वाचन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

काठमाडौं-५ बाट ईश्वर पोखरेल चिप्लिने सम्भावना, सहज छैन निर्वाचन



काठमाडौं- नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि एमालले पोखरेलको नाम सिफारिस गरेको हो ।

एमालेले बुधबार काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा पोखरेलको एकल नाम सिफारिस गरेको छ । पोखरेल २०७४ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा भारी मतले विजयी भएका थिए । तर यो पटक भने उनको लागि चुनाव जित्न सहज नभएको बताइन्छ ।

सत्ता गठबन्धनमा अझैसम्म भागबण्डा मिलिनसकेकाले टुंगो भइसकेको छैन । सत्ता गठबन्धनबाट दरिलो उम्मेदवार उठाउने तयारी भने छ । एकातिर स्वतन्त्रको लहर, अर्कोतिर एमालेमा भएको ठूलो विभाजन, त्यसमाथि गठबन्धनको दरिलो उम्मेदवार भएको खण्डमा पोखरेल चिप्लिने सम्भावना छ ।

यही क्षेत्रबाट चर्चित अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिने चर्चा छ । यसअघि काठमाडौं ५ बाट उठ्ने सार्वजनिक अभिव्यक्ति दिएपछि चर्चामा आएको हो ।

यस्तै, यस क्षेत्रबाट प्रतिनिधिसभामा उठ्नका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले उक्त पार्टीको भ्रातृसंगठन अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरिसकेको छ । भोजपुरका सुदेशले अहिले आएर काठमाडौंलाई राजनीतिक थलो बनाउन लागेका हुन् ।

यही क्षेत्रमा आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापा र विवेकशील साझा छाडेकी रञ्जु दर्शनाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।