ईश्वर पोखरेलको राजनीतिक भविष्य जोखिममा - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

ईश्वर पोखरेलको राजनीतिक भविष्य जोखिममा



काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा महासचिव पदबाटै हुत्याइएका ईश्वर पोखरेल सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमालेको महासचिव पदमा पुनर्वहाली भएका छन् । एमाले र माओवादीबीच पार्टी एकता हुँदादेखि नै रुष्ट पोखरेल सर्वोच्च अदालतको फैसलाले दुवै पार्टीलाई आ–आफ्नो ठाउँ फर्काइदिएपछि सबैभन्दा खुशी छन् ।

नवौं महाधिवेशनबाट महासचिव निर्वाचित भएपछि उनी सधैँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भूमिकामा रहे । तर, प्रधानमन्त्री ओलीले उनलाई पटक–पटक प्रयोग मात्र गरे । उनको सम्मान गर्न जानेनन् ।

अहिले फेरि सर्वोच्च अदालतकै फैसलाले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याएको छ । सत्ता जोगाउन ओलीले आफू जेठ ३ गते फर्किने भनेका छन् । तर, महासचिव पोखरेल भने पार्टीलाई जेठ २ वा ३ मा फर्काउने पक्षमा छैनन् । उनी हिजो एकताविरोधी थिए, आज एमाले विरोधी बनेका छन् । जसका कारण दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई जेठ २ को अवस्थामा पुर्याउन जतिसुकै प्रयास गरे पनि अन्ततः पोखरेलकै षड्यन्त्रका कारण त्यो प्रयास विफल हुने कुरा पक्का छ ।

ओखलढुंगाको माम्खाबाट महोत्तरीको मटिहानीहुँदै काठमाडौंमा उच्चशिक्षा अध्ययनका लागि आउँदासम्म उनको परिवारका अग्रज सदस्यले नेपाली कांग्रेसमा आस्था राख्थे । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा अध्ययन गर्ने क्रममा उनी साथीहरुको संगतले कम्युनिष्ट बने । त्यसबेला रत्न वान्तवा त्यहीँ पढ्थे । पछि उनको पारिवारिक बसोबास झापाको चन्द्रगढीमा भयो । तर, उनी पार्टी कामको सिलसिलामा भूमिगत थिए । भूमिगतकालदेखि पार्टी निर्माणमा योगदान पुर्याएका पोखरेल आज एमाले विभाजनको रेखा कोर्न व्यस्त छन् ।

त्यसो त ओलीसँगै उनको राजनीतिक भविष्य पनि समाप्त हुने भएको छ । १०औँ महाधिवेशनमा ओली आफैँ अध्यक्ष उठ्ने भएपछि पोखरेलको के काम ? त्यसमाथि एमाले विभाजनले उनी कहिल्यै प्रतिनिधिसभाको निर्वाचन नजित्ने ठाउँमा पुगेका छन् । एकातिर पार्टीको अध्यक्ष पनि हुन नपाउने, अर्कोतिर प्रतिनिधिसभाको निर्वाचन पनि नजित्ने भएपछि उनको राजनीतिक भविष्य जोखिममा परेको हो । माओवादीसँग चुनावी गठबन्धन नभएको भए ०७४ सालको निर्वाचनमै हार्थे । काठमाडौं क्षेत्र नं. ५ मा उनले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई ९८६० मतले हराए । ०६४ सालमा ईश्वर पोखरेलले ९१२० मत मात्र ल्याएका थिए । उनी नरहरि आचार्यसँग हारेका थिए । अब हुने निर्वाचनमा एकातिर माओवादी अलग, अर्कोतिर एमाले विभाजनको कारण उनलाई धरौटीसमेत जोगाउन मुस्किल पर्नेछ ।

२०४६ को जनआन्दोलनसम्म काठमाडौंमा पार्टी काम गरेका उनले ०४७ देखि जनकपुर अञ्चलको पार्टी कामको जिम्मेवारी पाए । ०४८ को निर्वाचनमा उनी धनुषाबाट चुनाव लडे । त्यो चुनाव हारेपछि कार्यक्षेत्र फेर्नका लागि तत्कालिन महासचिव मदन भण्डारीसँग निक्कै हारगुहार गर्नुपर्यो । मदनले उनलाई झापा पठाउन चाहेका थिए । तर, उनलाई काठमाडौं नै चाहिने भएपछि ०४९ सालदेखि फेरि काठमाडौं कार्यक्षेत्र बनाएर पार्टी काममा सक्रिय भए ।

०५१ मा एमाले सरकार गठन भयो । मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि उनले राजनीतिक सल्लाहकारको नियुक्ति पाए । त्यसबेला उनी माधव नेपालका प्रियपात्र थिए । ०५२ भदौमा मनमोहनको सरकार ढल्यो । त्यसपछि पनि माधव नेपालको खास मान्छेका रुपमा सक्रिय रहे । पार्टी कामबाहेक उनले केही समय वैदेशिक रोजगारी अन्तर्गत मानिसहरुलाई युरोप–अमेरिका पठाउने काम पनि गरे । एलिजा थापा, अमिर गुरुङ, गीता खड्काहरु उनका साझेदार थिए ।

उनले संसदीय चुनावमा ०४८ को पराजयपछि ०५६ सालमा भाग लिए । एमाले अध्यक्ष मनमोहन अधिकारी चुनावी दौडाहाकै क्रममा अचेत भई अस्पताल भर्ना भएपछि अस्पतालमै उनको निधन भयो । त्यसबेला मनमोहन काठमाडौंको १ र ३ नं. क्षेत्रबाट उम्मेदवार थिए । मनमोहनको निधनपछि १ मा प्रदीप नेपाल र ३ मा ईश्वर उम्मेद्वार बने । मनमोहनप्रतिको सहानाभूतिस्वरुप दुबै उम्मेदवारले चुनाव जिते ।

माधवप्रतिको मोहभंग
पद र सुविधाप्रति लालयित हुने उनलाई ०६० सालमा गठन भएको सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री बनायो । त्यो मन्त्री पद माधव नेपालको सदासयताबाट प्राप्त थियो । मन्त्री पदमा बहाल रहेकै अवस्थामा राजाले ०६१ माघ १९ को कदम चाले । कार्यक्रमको सिलसिलामा सप्तरी पुगेका उनलाई सेनाले त्यहीँबाट गिरफ्तार गरी केही समय बन्दी बनायो ।

२०६२÷६३ को जनआन्दोलनपछि उनको अपेक्षा थियो, मन्त्रीको । यसका लागि माधव नेपालसँग धेरैपटक अनुनय गरे । तर, उनी मन्त्री भएनन् । ०६४ को निर्वाचनमा एमाले तेस्रो दल बनेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै माधवले पार्टी महासचिवबाट राजीनामा दिए । झलनाथ महासचिव भए । यसपछि इश्वरले माधवको साथमात्र छाडेनन् ।

माधव र झलनाथबीचको सम्बन्धमा तिक्तता ल्याउन उनले भूमिका खेले । यसकै परिणामस्वरुप ०६५ सालमा सम्पन्न एमालेको आठौँ महाधिवेशन (बुटवल) मा झलनाथ एकातिर, माधव–केपी अर्कातिर हुने परिस्थिति बन्यो । माधवले केपीलाई अध्यक्ष र प्रदीप नेपाललाई महासचिवको उम्मेदवार बनाए । ईश्वरचाहिँ झलनाथ प्यानलको महासचिवका रुपमा खडा भए । चुनाव पनि त्यही समूहले जित्यो । त्यसपछि पनि निरन्तर माधव र झलनाथबीच फाटो ल्याउने भूमिकामा उनी सक्रिय रहे ।

संविधानसभामा राष्ट्रपतिबाट मनोनित हुने सभासद्मा एमालेका तर्फबाट नाम मागिँदा उनले अध्यक्ष झलनाथ खनालसँग सल्लाह नगरी आफ्नै पत्नीको नाम पठाए । यी र यस्ता अनगिन्ती कार्यशैलीका कारण झलनाथसँग उनको सम्बन्ध सुमधुर रहेन । फलतः उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनपछि पार्टी संसदीय दलको नेता बनाउने सिलसिलाबाट केपी ओलीसँग नजिकिए । ईश्वर झलनाथसँग नरहेको स्थितिले माधव र झलनाथबीचको सम्बन्धलाई पुनः निकट बनायो । उनले आफ्ना लागि झलनाथ र माधवहरु मरेतुल्य हुन् भनी अन्तर्वार्ता नै दिए । यसबाट माधव र झलनाथसँग नजिकिने सम्पूर्ण ठाउँ उनैले समाप्त गरे ।

आफ्नो स्वार्थ रक्षाका लागि नेताहरु जुधाएर आफू हावी हुँदै आएका ईश्वर पोखरेलसँग अब न केपीसँग सौहाद्र सम्बन्ध कायम रह्यो, न माधव–झलनाथतिर जाने ठाउँ बाँकी रह्यो । गुट वा समूहगत राजनीति चलेको यो समयमा तटस्थ हुने वा समूहबाट अलग व्यक्तिले भूमिका पाउने सम्भावना शून्यप्रायः रहन्छ ।

ईश्वरलाई केपीले आफूसँग राखेर वा ईश्वरले केपीको हितमा काम गर्छु भनेर होइन, जाने ठाउँ नहुँदा उनी केपीसँगै रहन बाध्य भएका हुन् । यदि केपीले ईश्वरका लागि केही गर्थे भने उनी रक्षा मन्त्रालयबाट हटाइएपछि बिनाविभागीय बनाइँदैन थिए । बिनाविभागीय उपप्रधानमन्त्री पनि स्वीकारेर पदमा बसिरहेका थिए । हुँदाखाँदाको सीसीएमसीको अध्यक्षबाट पनि केपीले लात मारे । त्यो पनि सहेर उनी बसे । हुँदाहुँदा थाहापत्तोबिनै उपप्रधानमन्त्रीबाट पनि बिदा हुनुपर्यो ।

यी घटनाक्रमलाई ईश्वरको हितार्थी भएर हेर्दा उनीमाथि केपी ओलीबाट असह्य अन्याय भएको छ । तर, उनीसँग त्यसलाई सहनुको विकल्प छैन । यो अन्याय नसहँदा पनि उनीसँग जाने ठाउँ छैन । खेल्ने भूमिका छैन । यसले एउटा राजनीतिक मान्छेलाई क्रमशः पतनतिर लैजानेबाहेक अर्को केही परिणाम आउँदैन ।

त्यसो त ईश्वरमात्रै होइन, केपी ओलीको पक्षमा लागेर पतनतर्फ धकेलिएका अनगिन्ती पात्र एमालेभित्रै छन् । त्यसरी धकेलिनेमध्ये कतिपयसँग विकल्प थियो, उनीहरु जोगिए । जोसँग विकल्प थिएन, उनीहरु पतन हुनुबाहेक अर्को ठाउँ रहेन । दृष्टिले तयार पारेको सामाग्री