एमालेलाई जिताए वृद्धभत्ता पाँच हजार बनाइदिन्छौँ- ईश्वर पोखरेल - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

एमालेलाई जिताए वृद्धभत्ता पाँच हजार बनाइदिन्छौँ- ईश्वर पोखरेल



नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ४ मंसिरको निर्वाचन परिणामबाट बन्ने एमाले नेतृत्वको बहुमतको सरकारले वृद्धभत्ता पाँच हजार पुर्‍याउने दाबी गरेका छन्।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तर्क्रिया कार्यक्रममा पोखरेलले विभिन्न दलका विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुवात गरेको बताउँदै अब बन्ने एमाले नेतृत्वको सरकारले त्यसलाई वृद्धि गरी पाँच हजार पुर्‍याउने दाबी गरेका हुन्।

‘अन्य दलका कैयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरु गरेका थियौँ। तर, कांग्रेसलगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए,’ पोखरेलले भने, ‘तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ। ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ, अब बन्ने एमाले नेतृत्वको सरकारले थप बढाएर पाँच हजार पुर्‍याउनेछ।’

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्‍याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ थियो।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेन्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पनि पोखरेलले जनाए।