घण्टौँ जाममा बसेर कार्यक्रममै नपुगी फर्किए इश्वर पोखरेल - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

घण्टौँ जाममा बसेर कार्यक्रममै नपुगी फर्किए इश्वर पोखरेल



सिन्धुली- वामपन्थी नेता ऋषि देवकोटा ‘आजाद’ को स्मृति सभामा सहभागी हुन गएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ३ घण्टा सवारी जामको सामना गरेका छन्।

सवारीसाधनले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि सिन्धुलीको बीपी राजमार्ग सोमबार दिउँसो घण्टौँसम्म अवरुद्ध भएको थियो। जनताले जहिलेपनि भोग्ने यस्तो तनाव आज भने भिआइपीले पनि भोगेका छन्।

स्थानीयले सडक छेकेर प्रदर्शन गरेपछि सयौँ गाडी बाटैमा रोकिए। पूर्वबाट काठमाडौँ आउने र जाने मूख्य सडकलाई स्थानीयले छेक्दा सर्वसाधरणसंगै पोखरेलले पनि धेरै सास्ती भोगे।

गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि गोलाञ्जोर गाउँपालिका वडा नम्बर–७ को तल्लो बाराबासीले सडक अवरुद्ध गरेका थिए।

त्यसले बिहानैदेखि बीपी राजमार्ग ठप्प थियो। भिमानमा आयोजना भएको स्मृति सभामा भाग लिन काठमाडौंबाट गाडीमा हिँडेका पोखरेल जामकै कारण कार्यक्रममा जान नसकेपछि काठमाडौँ फर्किएका छन्।

घन्टौंसम्म सडक नखुलेपछि उपप्रधानमन्त्री पोखरेल कार्यक्रममै सहभागी नभइ काठमाडौं फर्किएको बताइएको छ। सडक बन्द भएका कारण कार्यक्रममै नगई उपप्रम पोखरेल मन्त्रिपरिषद् बैठकमा भाग लिन भन्दै खुर्कोटबाटै काठमाडौं फर्किए।

५५ वर्षीय श्रेष्ठलाई ठक्कर दिएको सवारीसाधन भेटिन सकेको छैन। श्रेष्ठको शव सडक भन्दा तल खोल्सामा भेटिएको थियो । रक्षामन्त्री पोखरेलले भिमान पुग्न खुर्कोटबाट अझै ५० किलोमिटर पर जानुपर्ने थियो।