आयरल्यान्ड ३८ मा अल आउट: क्रिस एक्लैले लिए ६ विकेट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आयरल्यान्ड ३८ मा अल आउट: क्रिस एक्लैले लिए ६ विकेट



काठमाडौं– क्रिस वोक्सले घातक बलिङ गर्दै ६ विकेट लिएपछि आयरल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्ड १ सय ४३ रनले विजयी भएको छ।

खेलको तेस्रो दिन लन्डनको लर्डस् मैदानमा १ सय ८२ रनको लक्ष पछ्याएको आयरल्यान्ड आफ्नो दोस्रो पारीमा मात्र ३८ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो।

आयरल्यान्डका जेम्स म्याककोलुमले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका ४ ब्याट्सम्यानले खाता पनि खोल्न सकेका थिएनन्।

वोक्स र स्टुआर्ट बोर्डको बलिङसामु आयरल्यान्डको पारी धरासायी बनेको थियो। इंग्ल्यान्डलाई आयरल्यान्डको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न यी दुई बाहेक अन्य कुनै बलरनै जरुरत परेन। बोर्डले ४ विकेट हात पारेका थिए।

यसअघि पहिलो पारीमा ८५ रनमा अल आउट भएको इंग्ल्यान्डले दोस्रो पारीमा ३ सय ३ रन बनाएको थियो। आयरल्याण्डले आफ्नो पहिलो पारीमा २ सय ७ रनको योगफल तयार गरेको थियो।

एकदिवसीय विश्व विजेता इंग्ल्यान्डलाई पहिलो पारीमा ८५ रनमै अल आउट गर्न आयरल्यान्डका टिम मुर्तागले ५ विकेट लिएका थिए। पहिलो पारीमा मुर्तागको उत्कृष्ट बलिङकै सहायताले इंग्ल्यान्ड घरेलु मैदानमा सबैभन्दा कम रनमा समेटिएको थियो।

आयरल्यान्डका लागि पहिलो इनिङमा एन्डी बलबिराइनले अर्धशतक बनाएका थिए। इंग्ल्यान्डका स्टुआर्ट बोर्ड, ओले स्टोन, साम कुरानले समान तीन/तीन विकेट लिएका थिए।

इंग्ल्यान्डका लागि दोस्रो पारीमा ज्याक लिचले सर्वाधिक ९१ रन बनाए। यस्तै ज्यासन रोयले ७२, जोय रुटले ३१, साम कुरानले ३७ र बोर्डले २१ रनको योगदान दिए।