आईपीएल: हैदरावादको हारसंगै चेन्नई फाइनलमा - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

आईपीएल: हैदरावादको हारसंगै चेन्नई फाइनलमा



चेन्नई सुपर किंग्स सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाउन सफल भएको छ।

मंगलबार भएको रोमाञ्चक खेलमा चेन्नईले ५ बलअगावै ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। हैदरावाद फाप डुप्लेसीको सम्यमपूर्ण ब्याटिङका कारण पराजित हुन पुग्यो। महेन्द्रसिंह धोनीको चेन्नई हैदरावादले दिएको १ सय ४० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिए पनि सुरुवातबाटै खराब प्रदर्शनको सिकार भयो ।

उसका ब्याट्सम्यानहरू हैदरावादको कसिलो बलिङअघि निरीह रहे। तर, पनि ओपनर फाफ डुप्लेसिस नायक भए । उनले ४२ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६७ रनको अविजित इनिङ खेल्दै चेन्नईलाई जित दिलाए। चेन्नईका ६ ब्याट्सम्यान दोहोरो स्कोर गर्न असफल हुँदा हैदरावाद खेलमा हाबी भएको थियो। तर, १०औँ नम्बरमा ब्याटिङका लागि आएका सार्दुल ठाकुरले ५ बलमा १५ रनको योगदान दिँदै डुप्लेसिसलाई साथ दिएपछि हैदरावाद स्तब्ध रह्यो । त्यसअघि सुरेश रैनाले २२ रन बनाएका थिए भने थप दोहोरो स्कोरका रूपमा दीपक चहारको १० रन रहेको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । खराब सुरुवात गरेको हैदरावादले ३६ रन जोड्दा तीन विकेट गुमाए पनि कार्लोस ब्रेथवेटले इनिङलाई केही समाले । उनले २९ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४३ रन बनाएका थिए । उनीबाहेक कप्तान केन विलियमसन र युसुफ पठानले समान २४ रन बनाएका थिए ।

चेन्नईसँग पराजित भए पनि हैदरावादले अर्को फाइनल प्रवेशको एक मौका पाउनेछ । प्रतियाेगितामा बुधबार राजस्थान राेयल्स र काेलकाता नाइट राइडर्सबिच प्रतिस्सपर्धा हुनेछ।