‘इन्टु मिन्टु लण्डनमा’ टीजर रिलिज - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘इन्टु मिन्टु लण्डनमा’ टीजर रिलिज



रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को अफिसियल टीजर लञ्च भएको छ । यसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टीजर कलरफूल बनेको छ । लण्डनका विभिन्न रमणीय स्थानहरुमा खिचिएको फिल्मको टीजरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।

साम्राज्ञी र धिरजको जोडी सुहाएको छ । टीजरमा दुवैले एकअर्काको तारिफ गरेर थाकेका छैनन् । गएको तीन दिनदेखि निर्माण टिमले टीजरको काउनडाउन भिडियो फेसबुकमा अपलोड गरिरहेको थियो, जुन नेपालको सन्दर्भमा पहिलो प्रयोग हो । सार्वजनिक टीजरले दर्शकमा फिल्मप्रति चासो र कौतुहलता जन्माएको छ । साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ आफ्ना लागि विशेष रहेको बताइन् । ‘म कथा सुन्ने वितिक्कै सुटिङमा जान आतुर भएकी थिएँ । मैले अहिलेसम्म गरेको फिल्मभन्दा यो धेरै फरक छ’, उनले भनिन् ।

यस्तै, नव-अभिनेता तथा चर्चित ब्लगर धिरज मगरले ‘इन्टु मिन्टु लण्डनमा’ आफूले खोजेको जस्तै फिल्म रहेको बताए । निर्देशक रेनाशाले आफ्नो निर्देशकिय पाटोमा कोरियोग्राफी हाबी नभएको दाबी गर्छिन् । उनी यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँछिन् । यसलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । टीजरसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।