दक्षिण कोरिया - इन्टरनेटको नशा लागेका युवामा मानसिक र शारीरिक समस्या - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

दक्षिण कोरिया – इन्टरनेटको नशा लागेका युवामा मानसिक र शारीरिक समस्या



हिमालपोस्ट/काठमाडौँ-

(एजेन्सी)

सिओल – एक रिपोर्टअनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वमै सबैभन्दा तीव्र गतिको छ। त्यहाँ करीब हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन्।

तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रूपमा देखा परेको छ। यसको लतका कारण युवा मानसिक र शारीरिक रूपमा अस्वस्थ बन्न थालेका छन्। इन्टरनेटको लत छुटाउन अहिले देशभर पुनःस्थापना केन्द्रहरू खोल्न परेको छ। त्यहाँ युवाहरूलाई इन्टरनेटको लत छुटाउन सहयोग गरिन्छ। त्यस्तै विद्यालयमा विशेष कार्यक्रमहरू पनि सुरु गरिएको छ।

पछिल्लो वर्षको आधिकारिक तथ्याङ्कका अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको लतको चपेटामा छन्। केही रिपोर्टका अनुसार यो सङ्ख्या अझ बढी पनि हुन सक्ने बताइएको छ। नेशनल हेल्थ सर्विसले यदि कुनै कुरामा व्यक्तिले नियन्त्रण गर्न सक्दैन भने त्यसलाई लत मानिने उल्लेख गरेको छ।

इन्टरनेटको लतका कारण युवा मानसिक र शारीरिक र मानसिक रूपमा अस्वस्थ बन्न थालेका छन्। उनीहरू स–सानो कुरामा रिसाउने र उत्तेजित हुने गरेका छन्।

यसरी व्यक्तिको व्यवहारमा पनि बदलाव देखिने गरेको छ।  इन्टरनेटको लतका कारण उनीहरू सुत्ने र खानेजस्ता जरुरी कार्य पनि टार्न थालेका छन्।

अहिले थुप्रै सङ्ख्यामा युवाहरू इन्टरनेटको लत छुटाउन क्याम्पहरूमा जाने गरेका छन्। क्याम्पमा युवाहरूलाई अनलाइनको दुनियाँबाट कसरी दूरी बनाउने भनेर सिकाइन्छ। मुजु शहरमा रहेको क्याम्पमा मात्र सन् २०१४ देखि १२ सय युवा क्याम्पमा लत छुटाउन आइसकेका छन्।

इन्टरनेटको लत लागेका १७ वर्षीय हावो भन्छन्, ‘मलाई युट्युब हेर्ने नराम्रो लत लागेको थियो। म दैनिक १८ घण्टासम्म युट्युबमा बिताउँथे।’ यसले उनी स–सानो कुराले उत्तेजित हुने र तनावमा रहन थालेका थिए। उनको पढाइ पनि प्रभावित हुन थालेको थियो। त्यसपछि उनले क्याम्पमा भर्ना हुने निधो गरेका थिए।