बार्सिलोना छाड्ने इनिस्टाको घोषणा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बार्सिलोना छाड्ने इनिस्टाको घोषणा



स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका कप्तान आन्द्रेस इनिस्टाले क्लब छाड्ने घोषणा गरेका छन् । यो सिजनको अन्त्यबाट १६ वर्ष लामो बार्सिलोनासँगको यात्रा तोड्ने शुक्रबार घोषणा गरेका हुन् ।

क्लब छाडेपनि अब बार्सिलोना विरुद्ध भने कहिल्यै नखेल्ने बताएका छन् । मिडफिल्डर इनिस्टा सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

३३ वर्षिय इनिस्टाले क्लबको सिनियर टिममा १६ सिजन खेलिसकेका छन् । यो अबधिमा बार्सिलोनाबाट ३१ उपाधि जितेका थिए । इनिस्टा बार्सिलोनाकै एकेडेमीमा हुर्किएका हुन् ।

चाइनिज सुपर लिगमा जाने चर्चा चलिरहेका बेला उनले अब युरोपबाट फुटबल नखेल्ने बताएका छन् । ‘मैले पहिल्यै बार्सिलोनाविरुद्ध खेल्दिनन भनेको थिएँ त्यसैले म युरोपमा रहने छैन’, उनले भने, ‘मेरो लागि यो निर्णय कठिन हो । सबैसँग विदा माग्दा म भावुक भएको छु ।
तर मैले यहि निर्णय गरें’ पत्रकार सम्मेलनमा उनले भने । बार्सिलोनाको ए टिममा उनले ४ सय ३५ खेलमा ३५ गोल गरिसकेका छन् ।

स्पेनिस राष्ट्रिय टिममा १० वर्ष खेलिसकेका इनिस्टाले तीन मुख्य उपाधि जितेका छन् । सन् २००६ मा डेब्यु गरेयता उनले १ सय २५ क्याप जितेका छन् भने २५ गोल गरिसकेका छन् । स्पेनले सन् २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोकप जित्दा उनी क्लवका महत्वपूर्ण खेलाडी थिए ।