कथा : इन्द्रमायाको देशमा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कथा : इन्द्रमायाको देशमा



-एल. बी. क्षेत्री

सिङ्गापुरबाट काठमाडौँका लागि उडान लिएको विशाल जेट विमानको कुनै एउटा पङ्क्तिमा बसेका दुई महिला विश्वसाहित्यका निकै चर्चित पात्र रहेछन् । विमानले भुइँ छोडेपछि दुबैबीच परिचय अनि वैचारिक आदान– प्रदानका साथै जीवन रहस्यमय सङ्घर्ष रहेछ भन्ने मान्यता दुवैले बोकेको रहस्य पनि प्रष्ट हुँदै गयो । जीवनको मात्र तीस–

एकतीस वसन्त हेरेकी, दुई बच्चाकी आमा नर्वेली महिला नोरा, श्रीमान्‌सँग पारपाचुके गरेकी रहिछन् । अर्की आइरल्यान्डकी, नाम क्यान्डिडा, पैँतालीस नाघेकी, मोटीमोटी, गोलो अनुहार, दुई बच्चाकी आमा एक जना प्रतिष्ठित

समाजसेवीकी पत्नी रहिछन् । के कति कारणले नोरा र उसको श्रीमान्‌सँग सम्बन्धविच्छेद भएको भन्ने उत्सुकता क्यान्डिडाले देखाएकोमा लामो सास फेरेर नोराले भनिन्, ‘ठीक गरेँ कि बेठीक गरेँ थाहा छैन, यो कुरो समयले निर्धारण गर्ला तर सम्बन्ध विच्छेदको यो प्रस्ताव मेरो नै थियो ।’

‘के तिम्रो श्रीमान् तिमीलाई माया गदर्नैथे ?’

‘गर्थे, धैरै गर्थे मलाई भन्दा बढी मेरो सुन्दर शरीरलाई । म उनको वासना पूर्तिको आधिकारिक साधन पनि थिएँ ।’

‘अनि किन त ?’

‘वैचारिक भिन्नताले गर्दा ।’

‘हामी महिलाले अलिक सहनशीलता देखाउनु पर्ने होइन र ?’

‘तपाईँ मभन्दा बढी अनुभवी हुनुहुन्छ । मैले तपाईँका बारे पढेकी छु । तपाईँ जीवनको पाठ सिकाउनुहुन्छ, म ता जीवनको पाठ सिक्दै छु । फेरि पनि भन्छु, मात्र एउटा सीमासम्म हामीले सहनशीलता देखाउनु पर्छ जस्तो मलाई लाग्छ । महिला वर्गकै अस्तित्व मेटिने सम्भावना देखिन थालेपछि लोग्नेलाई बर्दास्त गरिरहनु वा अँगालिरहनु आवश्यक छैन जस्तो लाग्छ ।’

आइरल्यान्डकी महिला गहिरो सोचमा परिन् र झ्यालबाहिर हेर्न थालिन् । विमानमुनि बादल थियो जसले गर्दा भुइँ देखिएको थिएन ।

‘अहिले के गर्दै छ्यौ त ?’

‘स्वअस्तित्वको खोजीमा हिँडेकी छु । यो पुरुष समाजमा म आफ्ना लागि एउटा सुनिश्चित ठाउँको खोजीमा छु । सङ्घर्ष गर्दै छु ।’

‘तर तिम्रा दुईओटा बच्चा छन्, परिवारप्रति तिम्रो भिन्दै किसिमको दायित्व हुनु पर्ने होइन र ?’

‘मेरो पहिलो दायित्व आफूप्रति भएको ठानेँ । जब अन्धकारमा थिएँ म पनि त्यस्तै ठान्दथेँ ।’

‘के तिमी अन्धकारबाट उज्यालोमा आइसक्यौ त ?’

‘…………… ।’

नोराबाट तत्काल केही जबाफ आएन । मौन क्यान्डिडालाई हेरिरहिन् ।

‘भन्न गाह्रो छ है ?’

‘एक्लो जीवन बाँच्न गाह्रो छ— मान्दछु । तर, एउटै छानामुनि पुरुषको दास भएर बाँच्न झनै गाह्रो भयो ।’

विमान आफ्नै गतिमा उडिरहेको थियो । क्यान्डिडाको मस्तिष्कमा विचाका तरङ्ग आँउदैजाँदै थिए । उनको मस्तिष्कमा समाहित विचार शृङ्खलाको उडानले विमानको गतिलाई उछिन्न खोजिरहेको थियो । नेपाल भन्ने एउटा अविकसित मुलुककी बहादुर महिला इन्द्रमायाबारे सुनेकी थिइन् । उनकै बारे सोच्न थालिन् । पतिद्वारा पति र छोरीबीच एउटालाई मात्र रोज्न पाउने सर्त राख्दा उनले छोरी रोजेकी थिइन् । कस्तो साहस ! एकल जीवन बाँच्दै कसरी पालनपोषण गरेकी होलिन् उनले आफ्नी छोरीको ? मनमनै उनले सलाम गरिन् इन्द्रमायालाई । वास्तवमा उनी इन्द्रमायाकै देश नेपाल जाँदै थिइन् इन्द्रमायालाई नै भेट्न । केही समय उनैसँग बस्न । क्यान्डिडाको अनुहारमा पराजयको मलिनता थियो । स्त्रीपुरुषको सम्बन्ध प्रकृतिको अतलुनीय वरदान हो । प्रेमको उत्पत्ति, उत्थान र विकास त्यहीँबाट प्रारम्भ हुन्छ । फेरि किन त यो मतभेद, हस्तक्षेप र सन्देह ? अनिर्णयको बन्दी बनेकी उनी निष्कर्ष चाहन्थिन् । टाढाटाढासम्म निष्कर्षको खोजी गर्दा मरुभूमि बाहेक केही देख्‍न सकिरहेकी थिइनन् । मस्तिष्कलाई उथलपुथल गराउन उनका आफ्नै कथाव्यथा पनि थिए । उनी समाजसेवी थिइन् र पीडित, निरीह र असहायहरूलाई मद्दत गर्थिन् । कुनै बखत उनले पनि पति र प्रेमीबीच रोज्‍नुपर्दा उनले बडो गर्वका साथ भनेकी थिइन्— ‘म तिमी दुईमध्ये जो बढी कमजोर, असहाय र निरीह छ उसैलाई रोज्‍नेछु ।’ उनले पतिलाई रोजेकी थिइन् ।

असमर्थ उनी फेरि झ्यालबाहिर हेर्न थालिन् । विमानमुनि बादल पातलिएको थियो । केही तल धर्तीबाट उठेका विशाल पहाडहरू देखा परे तर, रूखहरूमा पात निकै कम थिए । पूर्ण हरियालीको अभाव थियो । नदीमा बाँधहरू थिए तर पानी थिएन । उनी सोच्दै थिइन्, विश्वको कुन भाग होला यो ?

अकाशमा उडिरहको जहाज र पृथ्वीको दूरी क्रमशः कम हुँदै थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लेर बहिर्गमनतर्फ हिँड्दै गर्दा क्यन्डिडाले नोरालाई सोधिन्— ‘तिमी कहाँ बस्ने ?’

‘इन्द्रमायासँग ।’ उनको संक्षिप्त उत्तर थियो ।