राजीव गान्धीको हत्या गर्ने सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

राजीव गान्धीको हत्या गर्ने सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश



एजेन्सी– भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ।२१ मे सन् १९९१ मा तमिलनाडुमा चुनावीसभाका क्रममा आत्मघाती हमलामा ३१ वर्षअघि राजीव गान्धीको हत्या गरिएको थियो।

शुक्रबार त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाउँदै गान्धी हत्यामा दोषी ६ जनालाई रिहा गर्न आदेश दिएको छ। गान्धी हत्यामा संलग्न आजीवन काराबासको सजाय भोगिरहेका नलिनी र आरपी रविचन्द्रन पनि जेलमुक्त हुनेछन्।

गत वर्षको १८ मेमा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो। बाँकी दोषीले पनि सोही आदेशलाई आधार बनाएर रिहाइका लागि अदालतमा निवेदन दिएका थिए।

राजीव हत्या मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो। टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजाय सुनाए पनि पछि सर्वोच्चले मृत्युदण्डको सजायलाई जन्मकैदमा झारिदिएको थियो ।