भारतका राष्ट्रपति नेपाल आउंदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतका राष्ट्रपति नेपाल आउंदै



काठमाडौ ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् ।

‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन, भ्रमणको तयारी भइरहेको छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘विदेशसचिवसँगको भेटमा राष्ट्रपतिको भ्रमण, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकलगायत विषयमा छलफल भयो । कुनै पनि विषय फाइनल भएको छैन ।’ राजदूत आचार्य र विदेशसचिव गोखलेबीचको छलफलमा रेग्मी र भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजन हेर्ने सहसचिव पीयूष श्रीवास्तव पनि सहभागी थिए ।

भारतीय राष्ट्रपति कोविन्द नेपालको सीमावर्ती राज्य उत्तरप्रदेशका बासिन्दा हुन् । नेपालमा उनको पहिलो राजकीय भ्रमण हुन लागेको हो । पूर्वराष्ट्रपति मुखर्जी पुष्कमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार हुँदा १७ र १८ कात्तिक ०७३ मा राजकीय भ्रमणमा आएका थिए । उनले जनकपुर र पोखरा पनि भ्रमण गरेका थिए ।

साउथ ब्लकसम्बद्ध स्रोतका अनुसार साउने सोमबार पारेर पशुपतिनाथ मन्दिर दर्शन गर्ने गरी राष्ट्रपति कोविन्दको भ्रमणको तयारी भएको छ । कोविन्दको भ्रमणपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी हुनेछ । ‘यो वर्ष (सन् २०१९) भित्र मोदीको भ्रमण हुने सम्भावना छ, राष्ट्रपतिको भ्रमणपछि त्यसबारे छलफल हुनेछ,’ साउथ ब्लकसम्बद्ध स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

यसअघि १८ र १९ साउन ०७१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउनको सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्ने गरी राजकीय भ्रमणमा आएका थिए । राष्ट्रपति कोविन्दको भ्रमणअघि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक राख्ने तयारी भएको छ । काठमाडौंमा बस्ने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक रूपमा निमन्त्रणा पठाएका छन् ।

राष्ट्रपति मुखर्जी आउनुभन्दा १८ वर्षअघि तत्कालीन राष्ट्रपति केआर नारायणन १४ जेठ ०५५ मा नेपाल भ्रमणमा आएका थिए । तर, केआर नारायणनपछि राष्ट्रपति भएका डा. एपिजे अब्दुल कलाम र प्रतिभा पाटिलले नेपाल भ्रमण गरेनन् । कलाम राष्ट्रपतिबाट बाहिरिएपछि भने काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाल आएका थिए । कलाम सन् २००२ देखि २००७ सम्म तथा पाटिल २००७ देखि २०१२ सम्म राष्ट्रपति थिए । नयाँपत्रिकामा खबर छ