भारतीय र चिनियाँ सैनिकबीच फेरि दोहोरो भिडन्त - Himal Post Himal Post
  • १ बैशाख २०८२, सोमबार
  •      Mon Apr 14 2025
Logo

भारतीय र चिनियाँ सैनिकबीच फेरि दोहोरो भिडन्त



करिब साढे दुई बर्षपछि भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ। चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशस्थित पहाडी इलाकामा हालै दुई देशका सेनाबीच भिडन्त भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै उनीहरुबीच तनाव भएको हो। अरुणाचल भारत र चीनको विवादित भूभाग हो, जुन अहिले भारतको कब्जामा छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार ९ तारिख (शुक्रबार) भिडन्त भएको थियो।

उक्त भिडन्तमा केही भारतीय सैनिक घाइते भएको ट्रिब्युन इन्डिया डटकमले भारतीय उच्च स्रोतलाई उद्धृत गर्दै जनाएको छ। दुवैतर्फ सैनिकको हताहती नभएको समाचारमा उल्लेख छ।

लद्दाखमा सन् २०२० अगस्टमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको थियो। त्यसपछि पहिलोपटक फेरि उनीहरुबीच भौतिक झडप भएको हो।

त्यही वर्ष मे महिनामा उनीहरुबीच लद्दाखमा झडप हुँदा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो।

त्यसयता एसियाका यी दुई छिमेकीबीच चिसिएको सम्बन्धमा सुधार आउन सकेको छैन। सैनिक र कुटनीतिक तहमा पटक—पटक वार्ता भए पनि सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन सकेको छैन।

चीन र भारतका सैनिक बेलाबखत आमनेसामने हुने गरेका छन्। पछिल्लोपटक अक्टोबर २०२१ मा तवाङ्देखि ३५ किलोमिटर उत्तरपूर्वको याङ्सेमा चिनियाँ र भारतीय सैनिक आमनेसामने भएका थिए।

चिनियाँ सैनिक १७ हजार फिटमाथिको पहाडमा उक्लिने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। यद्यपि अहिले उक्त क्षेत्र हिउँले ढाकेको छ।