इमरान खानले लगाए मोदी सरकारलाई गम्भीर आरोप - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

इमरान खानले लगाए मोदी सरकारलाई गम्भीर आरोप



एजेन्सी- भारतको संसदले नागरिकता विधेयक पारित गरेपछि देशव्यापी प्रदर्शन हुँदैछ ।

केही सहरमा त कर्फ्यू लगाएर समेत प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरिएको छ । यद्यपि विरोध प्रदर्शन रोकिएको छैन । विपक्षी दल लगायत नागरिक अगुवा, विद्यार्थी र अल्पसंख्यक मुस्लिम समुदायले विधेयकको विरोध गर्दैआएका छन् ।

यस्तैमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारको विरोध गरेका छन् । उनले ट्वीटमा लेख्दै नरेन्द्र मोदी नेतृत्वको सरकारको टिप्पणी गरेका हुन् । भारत सरकारलाई ‘फासीवादी’ भन्दै भारतलाई ‘हिन्दूराष्ट्र’ बनाउने प्रयास मोदीले गरेको टिप्पणी इमरानको छ ।

भारतले पारित गरेको विधेयकमा पाकिस्तान, बंगलादेश लगायत छिमेकी मुलुकबाट भारत छिरेका धार्मिक शरणार्थीलाई नागरिकता दिने उल्लेख छ । यसरी नागरिकता पाउनेमा विभिन्न ६ वटा धार्मिक समुदायको नाम विधेयकमा उल्लेख गरिए पनि मुस्लिमलाई समेटिएको छैन ।

यस्तैमा पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतलाई ‘हिन्दूराष्ट्र’ बनाउने षड्यन्त्रको रुपमा अर्थ्याएका छन् । खानले ट्वीट गर्दै भारत सरकारको नयाँ निर्णयको निन्दा गरेका हुन् ।

खानले लेखेका छन्, ‘भारतीय लोकसभामा पेश गरिएको नागरिकता विधेयक, जसले सबै अन्तर्राष्ट्रिय मानवअधिकार कानुन साथै पाकिस्तानसँग भएका द्वीपक्षीय सम्झौताको उल्लंघन गरेको छ । यो फासीवादी मोदी सरकारद्वारा प्रचारित आरएसएसको हिन्दूराष्ट्र बनाउने योजनाको हिस्सा हो ।’

यसअघि नै पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै विधेयकको विरोध जनाएको थियो । विधेयकलाई विज्ञप्तिमा ‘प्रतिगामी तथा पक्षपातपूर्ण’ भन्दै टिप्पणी गरिएको थियो । यस्तै भारतको छिमेकी देशहरुको मामिलामा दखल दिएको पनि उल्लेख गरिएको थियो ।