कूटनीतिमा ईमरानको मेडन ओभर - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

कूटनीतिमा ईमरानको मेडन ओभर



– डम्बर बहादुर सुनार

फेब्रुवरी १४ तारिकमा जम्मु एण्ड काश्मिर क्षेत्रभित्र रहेको पुलावामा जैस-ए-महोम्मद समूह द्वारा आत्मघाती कार बम हमला पश्चात् अन्तर्राष्ट्रिय राजनीति मुलत: अहिले भारत-पाकमा केन्द्रित भएको छ। उक्त हमलामा परि ४० भन्दा बढी सङ्ख्यामा भारतीय सिआरपिएफ़का जवानहरूले शाहदत प्राप्त गरे । त्यही दौरानमा भेयतनामको हान्वईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन बिच भएको वार्ताको प्रसङ्ग पनि भारत-पाकको बिचमा उत्पन्न परिस्थितिको सामुन्ने समाचारमा छायामा पर्‍यो खास गरिकन दक्षिण एसियाको सञ्चार जगतमा।

भारतले जवाफी हमला दिनु अगावै जैस-ए-मोहम्मद आतङ्कवादी सङ्गठनका नाइके मसुद अजहरले उक्त हमलाको जिम्मा लगेर अन्तर्राष्ट्रिय जमातको अगाडि सार्वजनिक गरिसकेको थिए । तर पाकिस्तान भने भारतको आरोपको सामना गरिरहेको थियो । जवाफी हमलामा भारतले सर्जिकल स्ट्राईक -२ मार्फत पाकिस्तानलाई गतिलो जवाफ सहित ३०० जना भन्दा बढी आतङ्ककारीको मृत्यु भएको सार्वजनिक गर्‍यो तर प्रमाणित अहिले सम्म भएको छैन।

भारत र पाकिस्तानको बिचमा यस्तो प्रवृत्तिको तनाव भनेको अहिले मात्र उत्पन्न भएको होइन । १९४७ अगस्ट महिनाको १४ र १५ गते यी दुई देशको विभाजन भए देखि हालसम्म मुख्यतः १९४७/४८, १९६५, १९७१, र १९९९ ठुला लिमिटेड युद्ध भएका छन् भने भारतीय भूमिमा विभिन्न कालखण्डमा आतङ्ककारी हमलाहरू भएका छन्। २४ डिसेम्बर १९९९ मा काठमाडौँ बाट दिल्लीको लागि उडेको विमान आईसी – ८१४ अपहरण गरी अफगानिस्तानको गान्धार भन्ने ठाउँमा अवतरण गराउन बाध्य बनाई मसुद अजहर सहित तीन जना ईस्लामिक आतङ्ककारीलाई रिहाइ गर्न भारत बाध्य भएको थियो । रिहाइ भए पछि २००० मा जैस-ए-मोहम्मद नामको सङ्गठन स्थापना गर्दै मसुद अजहर निरन्तर भारतको भूमिमा आतङ्कवादी हमलामा सक्रिय भएका छन्। भारतमा सन् २००१ मा भएको संसद् भवन हमला, २००८ मा भएको मुम्बईमा ताज हमला, २०१६ मा भएको उरी हमला र पठानकोट हमलामा जैस-ए-मोहम्मदको प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संग्लग्नता रही आएको छ ।

पाकिस्तान नियन्त्रण काश्मिरी क्षेत्रमा भारतीय लडाकु विमानले हमला गर्दा पाकिस्तानले भारतीय लडाकु विमानलाई नियन्त्रणमा लिँदै भारतीय विङ्ग क्याप्टेन अभिनन्दन भर्तमान, जो पाकिस्तानी सरकारको कब्जामा रहेका थिए, लाई पाकिस्तानी सरकारले रिहाइ गर्ने घोषणा सँगै दुई देश बिच उत्पन्न भएको परिणामले यु-टर्न लिएको थियो । भारत र पाकिस्तानको बिचमा युद्ध हुन्छ भनेर धेरैको अनुमान तब फेल भयो जब पाकिस्तानका प्रधानमन्त्री ईमरान खानाले बडो बुद्धिमत्तापूर्वक पाकिस्तानी संसदलाई सम्बोधन गर्दा विङ्ग क्याप्टेनलाई “शान्ति सद्भाव” का रूपमा सकुशल रिहाइ गर्ने घोषणा गरे। १४ तारिकमा भएको हमलाले विश्व राजनीतिमा कस्तो खालको राजनीतिक परिस्थिति निम्त्याउँछ भनेर आकलन गर्न नपाउँदै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानाले चालेको कूटनीतिक चालले गम्भीर दुर्घटना बाट दुवै मुलुकलाई जोगाएको छ यतिखेर। ईमरान खानको यो कदमले पाकिस्तानको अन्तर्राष्ट्रिय ईमेज पनि भारत भन्दा मजबुत बनाएको छ भने भारतको ईमेज आक्रामक भारत भनेर विश्व सामु पदार्पण हुन पुग्यो।

अर्को तर्फ भारतले पाकिस्तानलाई दोष लगाउँदै उक्त घटनामा पाकिस्तानको संग्लाग्नता भन्दै डंक्का पिटेको भारतले आफ्नो दाबी लाई सही साबित गर्न सकेको छैन । पाकिस्तानले अस्तिका दिन मात्र ४१ जना आतङ्कवादी समूहका कार्यकर्तालाई नियन्त्रणमा लगेर भारतको यो आशङ्का भने गलत साबित गरिदिएको छ यतिखेर।

भारतको चुनाव नजिकदै गर्दा निश्चय पनि मोदी सरकार अलिकता भए पनि यो बेला आफ्नो परिचयलाई राष्ट्रवादी अब्बल नेताको रूपमा जनता समक्ष प्रस्तुत गर्न चाहन्छ। उनी आफै प्रधानमन्त्रीको उम्मेदवार भएर पनि हुन सक्छ मोदीले कुनै पनि तवरबाट या सैन्य शक्ति प्रयोग गरेर भए पनि पाकिस्तानलाई भारत सामु कमजोर प्रस्तुत गर्न चाहन्थे तर जुन ढङ्गको दाबी भारतीय पक्षले गरेको छ त्यो अनुरूप ब्याटिङ गर्न सकेनन् मोदीले र अन्ततः ईमरानको ओभर मेडेन ओभर साबित भयो जति बेला ईमरानले भर्तमानलाई बिना सर्त “शान्ति सद्भाव” का निम्ति रिहा गरे । यसले गर्दा पाकिस्तान युद्ध होइन शान्तिको पक्षमा छ भन्ने कुरा प्रमाणित गर्‍यो ।

यो समस्याको समाधान वार्ताको माध्यमबाट पाकिस्तान सुल्झाउन चाहन्छ भन्ने कुरालाई सफल ढङ्गले सबै पक्षलाई बुझाउन पाकिस्तानी सरकार सफल भएको देखिन्छ । वार्ता नै समस्याको उत्तम विकल्प हो भन्ने कुरालाई आत्मसात गरेको देखिन्छ ईमरानले जुन उशुलले उनको कद उँचो देखिएको छ । उनले मोदीलाई बारम्बार वार्ताका लागि आग्रह गरे पनि मोदीले ईमरानको कुरा महत्त्वका साथ ग्रहण नगरेको कुरा बाहिर आइसकेको छ।

प्रधानमन्त्री मोदी र भाजपाका अध्यक्ष भारतले गरेको जवाफी कारबाहीमा ३०० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको भनेर दाबी गरेको कुरा पनि अझै पुष्टि हुन सकेको छैन जुन कुराले मोदी सरकार विश्व समुदायको अगाडी झुटो साबित भएका छन् जसले गर्दा हरेक बलमा छक्का हान्छु भनेर तम्सेका मोदी बिना रन चित्त बुझाउनु परेको छ। यो दाबी यथार्थमा परिणत नभएको खण्डमा मोदी सरकारलाई गिज्याउनको लागि विपक्षीलाई मसला भने जरुर हुने छ। भारतले बालाकोट स्थित आतङ्कवादी समूहको शैन्य तालिम केन्द्रमा हमला गरेको भनेको स्थान जस्ताको त्यस्तै रहेको भनेर अमेरिकी स्याटलाइटले खिचेको तस्बिर सार्वजनिक भए सँगै फेरी अर्को आशङ्काको प्रश्न उब्जिएको छ।

के अमेरिकाले सार्वजनिक गरेको तस्बिर सत्य हो त कि भारतको दावालाई गलत साबित गर्न अमेरिकी षडयन्त्र हो ? यी प्रश्नहरूको उत्तर बाहिरिन भने समय लाग्ने छैन। अन्तर्राष्ट्रिय राजनीतिक धरातलमा ईमरानले यो हामी दुई देशको मामला भएको हुनाले हामी आफै यसको चिरफार गर्छौ भन्नुले पनि उनी परिपक्व कूटनीतिज्ञ रहेछन् भन्ने कुराको छनक दिएका छन्। तर आगामी दिनमा कसरी यो विषयलाई टुङ्ग्याउनमा आफ्नो भूमिका निर्वाह गर्छ त्यो भने हेर्न बाँकी नै छ।

भर्तमानको रिहाइ पश्चात् भारतीय पक्षले दिएको जवाफले फेरी पनि भारतीय पक्षलाई नै लघुताभाष बनाएको छ। जेनेभा सन्धि अनुसार र भारतको शक्तिसँग डराएर पाकिस्तानले आफ्नो पाइलटलाई छोड्न बाध्य भएको भनेर टिप्पणी गर्नुले पनि मोदीको कदलाई हल्का बनाएको छ। चुनाव सन्निकट रहेकोले पनि हुन सक्छ मोदीलाई आफूले नेतृत्व गरेको भारत कुनै पनि तवरबाट पाकिस्तान भन्दा कम छैन भन्ने देखाउनु बाध्यता भएको छ। मोदीले खेलेको पारिले भारतीय जनतालाई कत्तिको चित्त बुझेको छ त्यो भने आगामी निर्बचानको नतिजा बाट मात्र बाहिर आउने छ ।

गहिरोसँग जकडि रहेको काश्मिर मुद्दा दुवै देशको निम्ति क्यान्सर साबित भएको छ। बेला बेलामा यो समस्या बल्झिरहने र विभिन्न चरणमा किमो पनि नदिएको होइन तर जति किमो दीइएपनि अहिले सम्म ठोस परिणाममा सुधार हुन सकेको छैन। दुवै देशको स्थापनाकाल देखिनै यो समस्याले अहिले सम्म निरूपणको औषधि पत्ता लगाउन सकेको छैन। मोदी या ईमरान मध्य यो समस्याको निम्ति संजीवनी बुटी बनेर सिद्ध को हुनेछन् या त अरू कुनै पात्र नै पर्खनु पर्ने त होइन ? यो आउने समयले नै निर्क्योल गर्नेछ।

(लेखक अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधिका बिधार्थी हुन्)