एकाएक विद्यार्थी विरामी परेपछि इलामका विद्यालय धमाधम बन्द - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एकाएक विद्यार्थी विरामी परेपछि इलामका विद्यालय धमाधम बन्द



इलाम- रुघाखोकी र ज्वरो बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।

केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो। पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ। एक साताका लागि विद्यालय बन्द गरिएको हो। परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि विद्यालय बन्द गर्नुपरेको बताइएको छ। चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन्।

गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ। साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ। कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ। रासस