बहस हुँदाहुँदै संवैधानिक इजलासमा चर्काचर्की - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

बहस हुँदाहुँदै संवैधानिक इजलासमा चर्काचर्की



काठमाडौँ – संसद विघटनविरुद्ध परेको मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले बहस भैरहेको छ । संवैधानिक इजलासमा सुनुवाईको हुँदैगर्दा चर्काचर्की भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशलाई लिएर बहसको क्रममा चर्काचर्की भएको हो।

बहसकै क्रममा अधिवक्ताहरुले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर कार्की इजलासमा बस्न नहुने जिकिर गरेका थिए । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा बस्न उपयुक्त नरहेको जिकिर गरेका हुन्। नेकपाको नाम सम्बन्धी विवादको मुद्दामा अगाडि गएर नमागिएको विषयमा फैसला दिँदै नेकपा एकता भंग गरेकाले न्यायाधीश श्रेष्ठ इजलासमा बस्न उपयुक्त नरहेको बहस अधिवक्ता बन्दीले गरेका हुन्। यस्तै सो फैसला पुनरावलोकनको निष्शा न्यायाधीश तेजबहादुर केसीले दिएका थिएनन्।

अधिवक्ता बन्दीले बहसमा भने, ‘यो इजलास न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले छोड्नु पर्छ। त्यो फैसलाका कारण राजनीतिको कोर्ष बदलियो, जसका कारण अहिले असंवैधानिक ढंगले संसद विघटन भयो। त्यस मुद्दासँग यो मुद्दाको तात्विक सराेकार छ। सोही कारण दुई श्रीमानले यो मुद्दाको सुनुवाईमा आफू बस्दा अदालतको गरिमा बढ्छ कि घट्छ सोच्नुस्।’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘त्यो फैसला ठीक बेठीक भन्न तपाईँ यहाँ पाउनु हुन्न। यो मुद्दामा त्यसको साइनो के छ? तपाईँले फैसलाको परिणाम के के भयो भनेर बहस नगर्नुस्।’

त्यसपछि वरिष्ठ अधिवक्ता महादेव यादवले पनि न्यायाधीशहरु श्रेष्ठ र केसी इजलासमा बस्न नहुने जिकिर गरे। अधिवक्ता बद्रिबहादुर कार्कीले पनि सोही जिकिर गरेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा शुक्रबार बहस सुरु भएको थियो।