आइजिपी खनालमाथि अनुसन्धान, रोकियो भ्रमण - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

आइजिपी खनालमाथि अनुसन्धान, रोकियो भ्रमण



काठमाडौँ – 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिमस्टेक सुरक्षा प्रमुख बैठकमा नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेकामा गृह मन्त्रालयले छानबिन सुरु गरेको छ। छ।

उनीसँगै ब्याङ्कक गएका प्रतिधिमण्डलका अन्य सदस्यहरूसँग सोधपुछ गरिएको छ।

महानिरीक्षक खनालले राष्ट्रिय नीतिविपरीत गई बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) बैठकमा राष्ट्रिय नीतिविपरीत मत जाहेर गरेको निष्कर्षमा गृहमन्त्रालय पुगेको छ।

सम्पूर्ण कुरा बुझ्दा सुनियोजित तरिकाले नेपालको परराष्ट्र नीतिविपरीत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको देखियो भनी गृहमन्त्रालयका एक जना अधिकारीले बताए। उनले अन्य देशका प्रतिनिधिहरूलाई पनि पाकिस्तानविरुद्ध लैजान सक्रियता देखाएको बुझिएको छ।

बैङ्ककमा २०७५ चैत ७ गते बिमस्टेक राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठक आयोजना गरिएको थियो। चार सदस्यीय प्रतिनिधिमण्डलसहित सो रणनैतिक महत्त्वको बैठकमा महानिरीक्षक खनाल सहभागी थिए।

सो बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानलाई आतङ्कवादी भन्नुपर्ने प्रस्ताव अघि सारेका थिए। सो प्रस्तावलाई आइजीपी खनालले अनुमोदन गरिदिएका थिए। यो काम नेपालको परराष्ट्र नीतिविपरीत थियो। थाइल्यान्ड र श्रीलङ्काका प्रतिनिधिहरूले यो विषय कुटनीतिक रूपमा गलत हुने भन्दै त्यसको विपक्षमा उभिएका थिए।

नेपालको राष्ट्रिय नीतिविरुद्ध अजित डोभालको प्रस्तावमा समर्थन जनाएको विषयमा अनुसन्धान भैरहेको अवस्थामा, उनलाई वैशाखको अन्तिम साता बिना उद्देश्य भारत भ्रमणको निम्तो आएको छ। त्यो निम्तो पत्र अनुमतिका लागि गृहमन्त्रालय पुगेको छ। यस्तो पत्र आएपछि गृहमन्त्रालयका अधिकारीहरू सशङ्कित बनेका छन्। निम्तोमा भ्रमणको उद्देश्य खुलाइएको छैन, कार्यसूची पनि छैन, त्यसैले फाइल रोकेको बताइएको छ।