आईजीपी नियुक्तिबारे सर्वोच्चमा बहस सकियो - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

आईजीपी नियुक्तिबारे सर्वोच्चमा बहस सकियो



नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

बुधबारदेखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

यस्तै बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यसविरुद्ध पोखरेल अदालत गएका हुन् ।