जिम्मेवारी निर्वाह नगर्ने प्रहरीलाई सेवामा बस्ने अधिकार छैन: आईजीपी खनाल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जिम्मेवारी निर्वाह नगर्ने प्रहरीलाई सेवामा बस्ने अधिकार छैन: आईजीपी खनाल



प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उपत्यकाका तीन जिल्लाका प्रहरी अधिकारीलाई खनालले निष्पक्ष र व्यावसायीक रुपमा सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

 

खनालले राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा बस्ने अधिकार नभएको भन्दै शान्तिसुरक्षाको जिम्मेवारी नै संगठनको पहिलो दायित्व भएको बताए । देशभरको प्रहरीको छाया नै काठमाण्डु र उपत्यका प्रहरी भएको बताउँदै प्रहरीको इमान र शाख गिर्ने कुनै पनि काम नगर्न उनले निर्देशन दिए । पछिल्लो समयमा समाजमा विविध खालका अपराध बढीरहेकोतर्फ सचेत गराउँदै हरेक काममा शून्य सहनशीलता अपाउनुपर्ने उनको भनाई थियो ।

प्रहरीकै मिलोमतोमा विभिन्न अपराध, तस्करी र गुण्डागर्दीलाई प्रश्रय दिने काम भइरहेको सञ्चारमाध्यमका समाचारलाई संकेत गर्दै खनालले भने, ‘घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्न, त्यसैले आफ्ना गलत प्रवृती त्यागौं ।’ मुलुकको शान्तिसुरक्षा र राज्यको प्रभावकारी उपस्थितीका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्ड गरिने खनालको भनाइ छ ।

साथै खनालले प्रहरी जवान र हवलदारहरूको बढुवामा ध्यान दिने बताए । उनले भने, ‘हो, जो फिल्डमा खटिन्छन् । नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित छु । किनभने बुट बजारेर परिवार नभनी दिनरात खट्ने समूह ठूलो छ, त्यसलाई मुटुमा राखेर काम गर्छु ।’

खनालले आफू आईजीपीको जागिर खान मात्र नआउको दाबी गरेका छन् । उनले केही नयाँ काम गरेर देखाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।