आइजिपी खनालले भने – नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ठ
हिमालपोस्ट/काठमाडौं–
नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्। सोमबार सम्पूर्ण प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरूलाई पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गरेका हुन्।
हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्ने र प्रहरी अनुसन्धान टिमलाई अझ बलियो बनाउनु पर्न कुरा उनले बताए। अपराध अनुसन्धान एवम् शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
नेपाल प्रहरी दक्षिण एशियामै उत्कृष्ट भएको दाबी गर्दै उनले भने, ‘अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्छ।’
भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्तदुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र सङ्गत गर्नुपर्नेमा जोड दिए।
सरसफाई, कार्यालय व्यवस्थापन, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्तदुरुस्त रूपमा प्रस्तुत गर्नपर्ने बताए।
नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरू तल्लो तहसम्म पुऱ्याउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि सङ्गठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने बताए।