आइजीपी खनाल भन्छन: जनताको मनबाट ‘विप्लव त्रास’ हटाउने 'टर्निङ प्वाइन्ट' त्यहि हो - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

आइजीपी खनाल भन्छन: जनताको मनबाट ‘विप्लव त्रास’ हटाउने ‘टर्निङ प्वाइन्ट’ त्यहि हो



काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको त्रास देखाएर संगठन भित्रैबाट प्रहरी नेतृत्व हत्याउन खोजिएको दाबी गरेका छन्। राजधानीस्थित केही सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले संगठन भित्र र बाहिर दुवै क्षेत्रबाट प्रहरी नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन्। गत असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रसंग निकाल्दै इतिहासमै बलियो र सुदृढ अवस्थामा रहेको प्रहरी संगठन बद्नाम गराउन यस्तो खेल खेलिएको उनले बताए।

‘सर्लाही यो घटनाले अहिले विप्लव समूह भित्र पनि अर्कै मोड लिएको छ। स्वभाविक प्रहरी कारवाहीमा मारिएका कुमार पौडेलको बिषयलाई अस्वभाविक रुपमा उछालेर घटनालाई अतिरञ्जित बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘मानवअधिकारको दुहाई दिएर अमानवीय क्रियाकलापमा सलंग्नहरुको पक्षपोषण गरिँदैछ।’ राष्ट्रिय मानवअधिकार आयोगले केही सातअघि कुमार पौडेलको गैरन्यायीक हत्या भएको ठहर गर्दै सार्वजनिक गरेको प्रतिवेदनमाथि पनि उनले प्रश्न उठाएका छन्। ‘राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सुरक्षा अधिकारीमाथि नै कारवाही गर्न सुझाव दिइएको सुनेको छु’, उनले भनेका छन्, ‘यसरी आएको प्रतिवेदनलाई नाङ्गो आँखाले हेरेर मात्र धारणा बनाउनु गलत हुन्छ, मैले त्यो प्रतिवेदन पढ्न पाएको छैन।’

नेपाल प्रहरी र त्यसको नेतृत्वमाथि लगातार प्रहार भइरहेको बेलामा आएको यो प्रतिवेदन आफैँमा शंकाको घेरामा परेको प्रहरी नेतृत्वको निचोड छ। लामो समयदेखि नेपाल प्रहरीकै एउटा तत्व प्रहरीमाथि नै प्रहार गर्दै नेतृत्व हत्याउने खेलमा लागेको कुरा चलिरहँदा आएको यो प्रतिवेदनबारे खनालले अहिल्यै विस्तृत नबोल्ने बताए। ‘राज्यलाई अटेर गरेर ठूलै बिध्वंश मच्चाउन हिँडेको विप्लव समुहको गतिमा लालबन्दी घटनाले लगाम लाग्यो’, उनले भने, ‘हो, आम जनताको मनबाट ‘विप्लव त्रास’हटाउने यही नै ‘टर्निङ प्वाइन्ट’ बन्यो। यस्तो अवस्थामा नेतृत्वमाथि मानवअधिकारको त्रास देखाउन खोजिएको छ।’

उनले तलदेखि माथिसम्म प्रहरीमाथि नियतवश आक्रमण भइरहेको पनि दाबी गरेका छन्। ‘केही समयअघि दाङको तुलसीपुरमा बम विस्फोट हुँदा एकजना म्यादी प्रहरीले ज्यान गुमाए’, उनले भने, ‘विप्लव समुहले गराएको बिष्फोटमा परेर ती म्यादी प्रहरीले सहादत प्राप्त गरेका थिए। भोजपुर सदरमुकाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुईजनाको मृत्यु भएको थियो।’ उनले कैलालीको टीकापुर घटना पनि स्मरण गरे।

प्रहरीमाथि भएको कहालीलाग्दो घटनाका रूपमा उनले टीकापुर नरसंहारलाई सम्झेका छन्। टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो। जहाँ एकजना दूधे बालकले पनि थरूहटको गोलीको शिकार हुनुपरेको थियो। ‘प्रहरीले ज्यान गुमाएका यी तथ्यहरु हेरौँ। अझ स्पस्ट रुपमा भन्नुपर्दा प्रहरीको निर्मम तरिकाले हत्या भयो। तर, यी केही प्रतिनिधि घटना मात्र हुन्’, उनले थपे, ‘नेपाल प्रहरीको इतिहासमा यस्ता कैयन उदाहरण छन्। देश र जनताको सुरक्षामा खटिएका धेरै प्रहरीको विभिन्न बहानामा विभिन्न समुह र शक्तिबाट हत्या भएका घटनाहरु प्रशस्तै छन्।’

नेपाल प्रहरीकै प्रयासका कारण अहिले विप्लव समूह रक्षात्मक भएको उनले बताएका छन्। ‘पछिल्लो समय विप्लव समुह निकै आक्रामक रुपमा प्रस्तुत भइरहेको थियो। चन्दा आतंक, धाकधम्की जस्ता गतिविधिबाट माथि उठेर यो समुह श्रृखंलावद्ध बम विस्फोटजस्ता जघन्य अपराधिक गतिविधि गरिरहेको थियो’, उनले भने, ‘जसका कारण उसकै कार्यकर्तालगायत सर्वसाधारणलेसमेत ज्यान गुमाएका थिए।’ खनालका अनुसार विप्लव समुह सुरक्षा व्यवस्थाका लागि मात्रै नभइ राज्यकै लागि चुनौती बनेको उनले सुनाए। ‘हिसांत्मक रुपमा अघि बढिरहेको विप्लव समुह सुरक्षा व्यवस्था मात्र होइन समग्र राज्यकै लागि एउटा ठुलो चुनौती बनेर आएको थियो’, खनालले थपे, ‘विभिन्न स्थानमा प्रहरीले छापा मारेर गरेर भारी परिमाणमा अवैध हतियार, विष्फोटक सामग्रीलगायत प्रहरीले बरामद गरेको, जुन विप्लव समुहको थियो।’

विप्लव समुहले मुलुककै सुरक्षा खल्बल्याइरहेको अवस्थामा नेपाल प्रहरीको काँधमा प्राप्त महत्वपूर्ण जिम्मेवारी निर्धक्क पुरा गरेको उनले बताए। ‘कुनै पनि हालतमा देश र नागरिकको सुरक्षा सुनिश्चित गर्ने क्रममा केही समयअघि प्रहरीसँगको मुठभेठमा विप्लव समुहका एकजना नेता कुमार पौडेलको मृत्यु भयो’, उनले भने, ‘विभिन्न हिसांत्मक गतिविधि गर्दै आइरहेको राज्यद्वारा प्रतिवन्धित विप्लव समुहको त्रास हावी भइरहेको अवस्थामा प्रहरीले यो कारवाही गरेको थियो।’ लालबन्दी घटनाकै कारण विप्लव समूह सुस्ताएको उनले दाबी गरे। ‘यो यही घटना हो, जसले विप्लव समुहलाई एकपटक सोच्न बाध्य बनायो। राज्यलाई अटेर गरेर ठूलै बिध्वंश मच्चाउन हिँडेको विप्लव समुहको गतिमा लगाम लाग्यो’, उनले थपे, ‘हो, आम जनताको मनबाट ‘विप्लव त्रास’ हटाउने यही नै ‘टर्निङ प्वाइन्ट’ बन्यो। अहिलेको सन्दर्भमा यो घटनाले अर्कै मोड लिएको छ । खनालको बुझाइमा यो घटना अनावश्यक उछाल्ने काम भएको छ। ‘स्वभाविक प्रहरी कारवाहीमा मारिएका कुमार पौडेलको बिषयलाई अस्वभाविक रुपमा उछालेर घटनालाई अतिरञ्जित बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘मानवअधिकारको दुहाई दिएर अमानवीय क्रियाकलापमा सलंग्नहरुको पक्षपोषण गरिँदैछ।

खनालले नेपाल प्रहरीले ठूलो उपलब्धी हाँसिल गरेको पनि बताएका छन्। ‘अनर्गल प्रचारबाजी’लाई पाखा लगाएर हेर्ने भने मेरो नेतृत्वमा नेपाल प्रहरीले ऐतिहासिक उपलव्धि हासिल गरेको छ। एकाध अपवादबाहेक धेरै सफल अनुसन्धान गरेको छ’, उनले भनेका छन्, ‘प्रहरीको आन्तरिक सुदृढीकरणमा उल्लेख्य सफलता पाएको छ, समुदायसँगको दुरी घटाएको छ, समग्रमा भन्नुपर्दा पुलिस ‘सच्चा पुलिस’ भएको छ।’ यस्ता कैयन उल्लेखनीय उपलब्धीलाई नियतवश ओझेलमा पार्दै नेपाल प्रहरी भित्र र बाहिरको एउटा समूह संगठित रुपमा नेपाल प्रहरीमाथि प्रहार गर्न लागिरहेको गुनासो उनले गरे। ‘मुलुक र नेपाल प्रहरीमामा स्थिरता नचाहने केही तत्वहरु व्यक्तिगत स्वार्थका लागि समग्र सगंठन र मुलुकको स्वार्थमाथि आक्रमण गर्न लागेका छन्’, उनले थपे, ‘तिनीहरूले नै अहिले नेपाल प्रहरीविरुद्ध प्रोपोगाण्डा मच्चाइरहेका छन्।’