म अब काङ्ग्रेसको अध्यक्ष रहिनँ - राहुल गान्धी - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

म अब काङ्ग्रेसको अध्यक्ष रहिनँ – राहुल गान्धी



भारतीय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब काङ्ग्रेस अध्यक्ष नरहेको घोषणा गरेका छन्। ट्वीटरमा विज्ञप्ती जारी गर्दै राहुलले काङ्ग्रेस कार्य समितिले अब चाँडै नयाँ अध्यक्ष चयन गर्ने पर्ने धारणासमेत राखेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार गान्धीले अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् र काङ्ग्रेस कार्य समितिले छिट्टै नयाँ अध्यक्ष चयन गर्नेछ। पत्रकारहरूसँग बोल्दै राहुलले भने,’म अब काङ्ग्रेस अध्यक्ष रहिनँ। मैले राजीनामा गरिसकेँ।’

लोकसभा निर्वाचनमा भारतीय काङ्ग्रेस पार्टीले बेहोरेको पराजयपछि गान्धीले मे महिनामा नै राजीनामा दिएका थिए। तर कार्य समितिले उनको राजीनामा अस्वीकृत गरेको थियो। यद्यपि राहुल भने अध्यक्ष पदमा नयाँ र गान्धी परिवारभन्दा बाहिरबाट मानिस आउने पर्ने पक्षमा थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचनको प्रचारप्रसारका क्रममा आक्रामक ढङ्गले प्रस्तुत भएका राहुललाई भावी प्रधानमन्त्रीका रूपमा समेत हेरिएको थियो। उनको नेतृत्वमा यस पटकको लोकसभा निर्वाचनमा काङ्ग्रेसले राम्रो परिणाम ल्याउने धेरैले अपेक्षा गरेका थिए। तर, राहुलले गान्धी परिवारको विरासतका रूपमा पाएको अमेठी लोकसभा सिटबाट  नै पराजित भए। उनलाई मोदी क्याबिनेटकी मन्त्री स्मृति इरानीले पराजित गरिन्।

गान्धी परिवारको राजनीतिक गढ मानिएको अमेठीबाट मात्र नभइ राहुलले वायान्द लोकसभा क्षेत्रबाट समेत निर्वाचन लडेकाका ले भने उनको सांसद पद गुमेन। ‘सेफसाइड’ का रुपमा वायान्द लोकसभा क्षेत्रमा विजयी हुँदै राहुल सांसद भने बनेका हुन्।

पार्टी नेता तथा कार्यकर्ताहरूले भने राहुललाई अध्यक्ष पदमा रहन आग्रह गरिरहेका छन्। तर, राहुल यसपटक आफ्नो अडानबाट पछि हट्ने अवस्थामा नदेखिएको भारतीय संचार माध्यमले जनाएको छ।