आर्थिक मन्दीको अर्को कारण हो हाइपर फन्ड, अरबौँ ठग्नेहरूलाई भएन कारबाही
हाइपर फन्डले धेरै सर्वसाधारणको बिल्लीबाठ बनाएको छ। छिट्टै धनी हुने गुलियो आश्वासन दिएर सर्वसाधारण लुटिएका छन्। अहिले यो बन्द भइसकेको छ तर कसैको पनि पैसा फिर्ता गरिएको छैन। हाइपर फन्डका साहुहरूको धम्कीका कारण कसैले पनि उजुरी दिने आँट गरेका छैनन्। हाइपरको ठगीधन्दा चलाउनेहरू खुलेआम हिँडिरहेकै छन्।
कुनै समय हर्बो, युनिटीलगायत नेटवर्किङल व्यवसायबाट धेरैजना ठगिए। धेरैको घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परे। अनिमात्र सरकारले ती सञ्चालकलाई कारबाही गरेको थियो। हाइपर फन्डलाई हाइपर भर्सका रूपमा रूपान्तरण गरी सर्वसाधारणलाई भ्रम
छर्ने काम गरियो। कुरै नबुझी सर्वसाधारणले लहलहैमा हाइपर भर्समा लगानी गरे। फन्डमा भएको अन्धाधुन्ध लगानीले आर्थिक संकट निम्तिएको आशंका गर्न सकिन्छ।
के हो हाइपर फन्ड ? किन बन्द भयो ?
हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो। यसले वस्तु तथा सेवाको बिक्री नगरे पनि तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणलाई पैसा हाल्न लगाइन्छ। अहिले बन्द भए पनि यसका सञ्चालकहरू पुनः कुनै न कुनै माध्यमबाट चलाउन चलखेल गरिरहेका छन्।
हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो तर क्रिफ्टो होइन यो। कुनै पनि क्रिप्टो करेन्सीको सूचीमा छैन र थिएन। परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। एप डाउनलोड गरेर एकाउन्ट बनाएर न्यूनतम शुल्क हाल्न लगाइन्थ्यो।
नेपाल राष्ट्र बैंकले हाइपर फन्डको धेरै विरोध गर्दै आयो। गैरकानुनी कारोबार भन्दै सर्वसाधारणलाई सूचित गराइरह्यो। तैपनि सञ्चालकहरूको गुलियो आश्वासनका कारण सर्वसाधारणले लगानी गर्न छोडेनन्। हाइपर फन्ड गैरकानुनी बिजनेस हो। नेपालसहित कुनै पनि देशले यसलाई अनुमति दिएन। तैपनि यसमा लाखौंको अर्बौं रकम फसेको अनुमान गर्न सकिन्छ। नेपालका कुनाकाप्चादेखि विश्वका धेरैजसो देशमा हाइपर फन्डको चर्चा चुलिएको थियो। पछिल्लो समयमा नेपाल दूरसञ्चार प्राधिकरणले यसको साइट नचल्ने बनाएपछि सर्वसाधारणको थप रकम ठगिनबाट जोगिए।
किन हुँदैन ठगलाई कारबाही ?
युरोपमा नेपाली हाइपर फन्डको टिम लिडरका रूपमा एनआरएनमा सक्रिय एक नेपाली व्यवसायी, पोर्चुगलमा रहेका अर्का नेपाली व्यवसायी र अन्य पनि हुन्। उनीहरू अहिले पनि छाती फुलाएर हिँडिरहेका छन्। उनीहरू त अझ देशका ठूला नेताहरूसँग मञ्चमा आसनग्रहण गर्दै शिर ठाडो पारेरै हिँडिरहेछन्।
कालो धनलाई सेतो बनाउने खेलमा उनी अहिले दुबईमा रियल स्टेटस कम्पनी खोलेर बसेका छन्। यो एउटा देखाउने दाँतमात्र हो। उनको काम भनेको हाइपरबाट ठगेको पैसा सेतो बनाउनुमात्र हो। तर उनीहरूबाट ठगिएका हजारौं साँझबिहान हातमुख जोड्न नसकेर छटपटाइरहेका छन्।
नेपालका मात्र होइन, विदेशका नेपाली पनि ठागिएका छन्। युरोप, दक्षिण कोरिया, इजरायलदेखि खाडी मुलुकसम्मका नेपाली यस्तो नेटवर्किङ बिजनेसमा जोडिएका छन्। नाइकेहरू बेलायत, दुबई, पोर्चुगल बेल्जियममा छन्। युरोपबाट मात्रै नेपालीको अर्बाैं रकम हाइपर फन्डमा गएको छ। त्यसैले मुलुकमा जति रेमिट्यान्स आउनुपथ्र्यो, त्यति आउन सकेको छैन।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले कार्यकालमा नेपालीले दुबईमा अपार्टमेन्ट खरिद गरेको कुरा चर्चामा ल्याए। त्यो नेपालीले नै किनेका हुन्, जसले हाइपरमा ठगी गरेर किनेका थिए। पछिल्लो समय सहरमा मात्र होइन, गाउँगाउँमा हाइपर फन्ड पुगिसकेको थियो। अझ बेलायतका ललितले त नेपालमा आफन्त तथा छिमेकीको नाममा नेपालमै पैसा हाल्न लगाउँथे। त्यो बराबर बेलायतबाट आफूले हाइपरमा लगानी गरिदिन्थे। देशमा जाने रेमिट्यान्स यतै रोकिने गर्दथ्यो। यसरी देशमा आर्थिक मन्दी आउनुमा हाइपर फन्ड पनि मुख्य कारण हुन सक्छ।
सर्वसाधारणले आकर्षक ब्याजको लोभमा हाइपर फन्डमा लगानी आशंका गर्न सकिन्छ। एक लाख लगानी गरेर वर्ष दिन नपुग्दै दुई लाख कमाउन सकिने आश्वासन पाएकाले कतिपयले बैंकबाट विभिन्न शीर्षकमा कर्जा लिएर यस्तै नेटवर्किङ बिजनेसमा लगानी गरेको पाइएको छ। अहिले खराब कर्जा बढिरहेको छ। सरकारले हाइपर नामबाट पैसा लिएर र क्रिप्टोकरेन्सीका नाममा कारोबार गर्ने जोकोहीलाई पनि छोड्न हँुदैन। यतिबेला हाइपर बन्द भएको छ, तर हाइपरको नाइकेहरू उजुरी गरे तिमीहरू नै फस्छौ भनेर पीडितलाई उल्टै त्रास थोपर्दै छन्। जति सर्वसाधारण ठगिएका छन्, ऊनीहरू मनोवैज्ञानिक त्रासमा छन्।
अहिले सञ्चालकहरूको धम्कीका कारण कतिपय पीिडतले उजुरी गर्न सकेका छैनन्। सरकारले कडा एक्सन लिएर ठगलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्छ। साथै एनआरएनको आडमा ठूला नेताको हिमचिम बढाइँदैछ। यसरी नेपालको कालो धन दुबई लगेर सेतो बनाउने सबैलाई कारबाही गर्नुपर्छ। हर्बो र युनिटी काण्डमा जस्तै हाइपर फन्डको काण्डमा पनि सरकार निर्मम बन्नैपर्छ। नत्र फेरि यस्ता काण्ड नयाँ स्वरूपमा आउने छन्। देशको अर्थतन्त्र धराशायी हुन नदिन सरकार बेलैमा सजग बनोस्। यो समाचार रमेशराज बास्तोलाले अन्नपूर्णमा लेखेका छन् ।