पूर्वराष्ट्रपति हु जिन्ताओलाई महाधिवेशनबाट जबर्जस्ती बाहिर निकालेपछि… - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

पूर्वराष्ट्रपति हु जिन्ताओलाई महाधिवेशनबाट जबर्जस्ती बाहिर निकालेपछि…



काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको समापन समारोहमा अचम्मको दृश्य देखिएको छ । अन्तराष्ट्रिय समाचारमाध्यममा पूर्व राष्ट्रपति हु जिन्ताओलाई जबर्जस्ती निकालिएको फुटेज भाइरल बनेको छ ।

समारोहबाट पार्टीका पूर्व महासचिव तथा पूर्व राष्ट्रपति हु जिन्ताओलाई जबर्जस्ती बाहिर निकालिएको दृश्यमा देख्न सकिन्छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यममा देखिएको उक्त भिडियोमा सी जिनपिङको छेवैमा रहेका उनलाई एक जनाले हातमा समातेर जबर्जस्ती गरेका छन् । सीलाई तेस्रो कार्यकालको लागि पार्टीको महासचिव चुनेको उक्त समारोहबाट पूर्व राष्ट्रपति जिन्ताओलाई निकाल्दै गरेको त्यो भिडियो अस्वाभाविक देखिएको छ ।

अधिवेशनको अन्तिम दिन शनिवार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको छेउको सिटमा बसेका बेला एक जना व्यक्तिले सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मान्दैनन् । ती व्यक्तिले जिन्ताहोको कानमा केही भनिरहेको समेत देखिएको छ ।

सुरुमा उठ्न नमानेका उनले अस्वाभाविक रूपमा सिटबाट उठ्छन् र छेउमा आसीन प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन् ।

त्यसपछि उनले सीसँग संवाद गर्न खोजेको समेत देखिन्छ तर सीले भने वास्ता गर्दैनन्। उनलाई दुई जना पुरुषहरूले हलबाट बाहिर लिएर जाँदै गरेको दृश्यमा देख्न सकिन्छ ।

उनलाई किन बाहिर निकालियो भन्ने विषयमा अधिकारिक प्रष्टिकरण हालसम्म प्राप्त भएको छैन ।