गृहमन्त्री थापा सांसदहरूद्वारा ऱ्याखऱ्याख - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गृहमन्त्री थापा सांसदहरूद्वारा ऱ्याखऱ्याख



हिमालपोस्ट/काठमाडौँ –

खाल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । यो घटना सर्लाहीको ईश्वरपुर नगरपालिकाको हो। ढुङ्गागिट्टी उत्खनन गर्दा बनेको खाल्डोमा पानी जमेपछि बनेको पोखरीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा प्रहरी दमन भएको विषयमा संसदको मङ्गलबारको बैठकमा सांसदहरूले गृहमन्त्रीको जबाफ मागे ।

प्रहरीमाथि आक्रमण भएको र हवाई फायर गर्दा सरोज सिंहको मृत्यु भएको गृहमन्त्री रामबहादुर थापाले बताए । प्रदर्शनकारी माथि रहेकाले हवाई फायर गर्दा सिंहलाई गोली लागेको गृहमन्त्री थापाको दाबी थियो ।

उनले भने, ‘नगरपालिकाले बनाएको खाल्डो पुर्न दिइएन । त्यही खाल्डो पोखरी बन्यो । पछि हत्या भयो भनेर प्रदर्शन भयो, प्रहरीमाथि आक्रमण भयो । त्यसलाई नियन्त्रणमा लिन अश्रुग्यास हानिएको हो । हावाई फायर गरिएको हो । तर हवाई फायरकै गोली लागेर सरोज सिंहको मृत्यु भयो । छानबिनका लागि समिति गठन भएको छ। प्रतिवेदन आउँछ । मृतकका परिवारलाई आर्थिक सहायता गरिनेछ ।’

गृहमन्त्रीले दिएको जबाफ चित्त नबुझेर सांसदहरूले उल्टै उनलाई प्रश्न गरे । मन्त्रीको जबाफ सत्यतथ्यमा आधारित नभएको आरोप उनीहरूको थियो। सांसद भरत शाहले, ‘गृहमन्त्रीको जबाफ सत्यतथ्यमा आधारित छैन । छानबिनका लागि संसदीय समिति बनाउन तयार हो ?’

सांसद उमा रेग्मीले पनि मन्त्रीको जबाफ चित्त बुझ्दो नभएको बताइन् । उनले सोधिन्, ‘संसदीय समिति छानबिन समितिमा गठन गर्ने हो कि होइन ? सत्यथ्य बाहिर आउने हो कि होइन ?’

सांसद प्रमोद शाहले राज्यले खाल्डो खनेर सर्वसाधारणको हत्या गरेको आरोप लगाए । उनले भने, ‘कामका लागि खाल्डो खनिएको होइन । राज्यले त्यो खाल्डो किन खन्यो ?’

त्यस्तै सांसद डिला संग्रौलाले गृहमन्त्रीको जबाफ झुठको पुलिन्दा रहेको बताइन् । सांसद मीनबहादुर विश्वकर्माले भने, ‘हत्याको छानबिन गर्न हत्यारालाई दियो भने मृतकमा नै दोषी ठहरिन्छ । सरकार उत्तरदायी भएन ।’

गृमन्त्रीको भनाइ कृत्रिम र बनिबनाउ रहेको सांसद राजकिशोर यादवले बताए र भने, ‘हवाई फायरमा कसरी टाउकोमा गोली लाग्यो ? संसदमा बोल्दा पदको ख्याल गरौँ ।’

सरकारले अवैध खानी चलाउन दिएका कारण त्यसकै लागि खनिएको खाल्डोमा परेर नागरिकको ज्यान गएको सांसद पुष्पा भुसालले बताइन् । सोधिन्, ‘पोखरीको नाम के हो ?’

आफ्नो जबाफमा सांसदहरूले प्रश्नहरूको वर्षा गरेपछि गृहमन्त्री थापाले पुनः जबाफ दिए । आफूले गृह मन्त्रालयबाट प्राप्त जानकारी संसदमा दिएको भन्दै भने, ‘सरकारले दिएको जानकारी सही छ कि छैन भन्ने प्रश्न उठ्यो । लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन लाग्दा भएका घटना भएको हो । जनताको जीउधनको सुरक्षा गर्न खोज्दा भएका घटना हो सर्लाहीमा ।’