जेनजीको रगत र शहिदको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैलाई छैन:- गृहमन्त्री अर्याल

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्।
विहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै मन्त्री अर्यालले कुनै पनि हालतमा कोहि कसैलाई अहिले जेनजी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरित जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अवको हल खोजिनु पर्ने बताए।
सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रसय नदिने कुरा बताउंदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षती भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्याङ्केट अप्रोच’ (नजरअन्दाज) नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए।
“जेनजीको रगत सडकमा बग्नुका कारण सुशासन लागि नै हो, यो सरकार सुशासनको मामलामा अत्यन्तै सजक रहन्छ र हामी यसलाई सम्बोधन गरेरै जान्छौं,” मन्त्री अर्यालले भने। उनले थपे, जेनजी सहिदहरुको सपनाभन्दा बाहिर जाने छुट हामीलाई छैन र देशमा उनीहरुले देखेको सुशासन, भ्रष्टाचार अन्त्यका सपना नै यो आन्दोलन हुनुको मुख्य कारण हो।
समितिमा उठेका प्रश्नहरुको उत्तर दिनुहुँदै मन्त्री अर्यालले भने, प्रहरीको मनोवल उच्च राख्न उनीहरुले गर्न र लिन खोजेको निर्णयमा हस्तक्षप नगरे मात्रै पनि प्रहरी संगठनको मनोवल स्वतः उच्च हुन्छ।
आगामी निर्वाचनमा सुरक्षा निकायलाई आवश्यक बन्दो बस्तीका सामग्रीको कमी हुन नदिन र आवशयक आर्थिक श्रोत जुटाउन बिभिन्न निकायहरुसँग समन्वय भइरहेको पनि मन्त्री अर्यालले समितिलाई बताए। अर्को प्रशङ्गमा मन्त्री अर्यालले भने, दलहरुसंग सरकार नकारात्मक हुनै नसक्ने भन्दै, वार्ता र छलफल विभिन्न तहमा आगामी समयमा हुने नै छ।
बैठकमा समितिका अधिकांश सदस्यहरुले चुनाव तोकिएकै मितिमै हुने कुरा, प्रहरीहरुको खस्किएको मनोबल, देशमा शान्ति सुरक्षा र भयको वातारण नभएको जस्ता जिज्ञासा प्रस्तुत गरेका थिए। समिति सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको बैठकले आगमी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीहरुको मनोवल उच्च बनाउंदै आन्दोलनका क्रममा लुटिएका हातहतियार र आपराधिक क्रियाकलापमा लागेकाहरुलाई कानूनी दायर ल्याउन र मुलुकमा भयरहित वातावरण निर्माण गर्न समितिले सरकारलाई निर्देशन गरेको छ।

