कोरोना रोकथामका लागि होली पर्व नमनाउन सरकारको आग्रह - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोना रोकथामका लागि होली पर्व नमनाउन सरकारको आग्रह



काठमाडौं- कोरोना सङ्क्रमणले विश्वब्यापी सङ्कट सृजना भएपछि नेपाल सरकारले पनि रोकथामका लागि विभिन्न उपाय अबलम्बन गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले होली पर्व नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्।

‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं,’ ज्ञवालीले भने, ‘विवाहको विषयलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाऔं।’

ज्ञवालीले अहिलेसम्म नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै नेपाललाई संक्रमणबाट जोगाउनका लागि सरकारले विभिन्न कदम चालेको बताए।

कोरोनाबाट प्रभावित पाँच वटा देशका पर्यटकलाई जारी गरेको अन एराइभल भिसा रोक्का गरिएको र अत्यावश्यक बाहेक भ्रमण विदेश भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको उनले बताए।

‘हामीले कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) जारी गर्न रोकेका छौं,’ ज्ञवालीले भने, ‘अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न ट्राभल एड्भाइजरी समेत जारी गरेका छौं।’

नेपाल प्रवेश नाकामा कडाइ गरेको र यात्रीले मेडिकल रिपोर्ट अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको ज्ञवालीले जानकारी दिए। सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन तहका समन्वय गर्न संयन्त्र स्थापना गरिएको पनि उनले बताए।