‘हो म चरित्रहिन केटी’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘हो म चरित्रहिन केटी’



-सखी

ओ हो धेरैपछि भेट भयो । कता छौँ तिमि आजभोली ? सरोजले नजिकै आएर सोध्यो । झण्डै सात वर्षपछि भेट भयो उसँग आज मेरो । १२ कक्षासम्म गाउँकै क्याम्पसमा पढेका थियौं हामी । ‘तिमि त के हो पूरै चेन्ज भइछौ त’ सरोजले भन्यो । म अचम्ममा परे के चेन्ज भएछ ? मैले सोधे । के चेन्ज भयो र ? ‘क्याम्पस पढ्दा तिमि कति सोझी थियौ । आजभोली पुरै रुप परिवर्तन भएछ नी’ उसले भन्यो । यस्तै गनथन मनथन कुरापछि हामी छुट्टियाँै ।

क्याम्पस पढ्दा उसका दुई तीन गलफ्रेन्ड हुन्थे । कतीसँगको बे्रकप पछि । यो केटीसँग यसो गरे । फलानीसँग ऊसो गरे भन्दै पूर्व प्रेमिकाहरूको बदनाम गर्न पनि भ्याउथ्यो ऊ । धेरै गलफ्रेन्ड बनाउँन सकेकोमा आफैप्रति गर्व समेत गथ्र्यो उसले । छाती चौडा पार्दै हिड्थ्यो क्याम्पसमा । अनी तिनै केटीहरूको भने क्याम्पस भरी बदनाम ‘क्यारेक्टर लेस केटी’ भनेर ।

आफूलाई भने केही चिन्त्ता थिएन । किनभने कसैले ‘क्यारेक्टर लेस केटी’को ट्याग लगाएका थिएनन् । मैले सोच्थे कुर्ता लगाउने, कपाल लामा हुने, कपाल बाट्ने, ब्याइफ्रेन्ड नहुँने केटी भनेको चरित्रवान हुन् । सबले उनीहरूलाई राम्रो दृष्टिकोणले हेर्छन् । र म त्यस्तै बन्थे ।

धेरैपछि मात्र थाहा भो कुनै पनि कपडाले कसैको इज्जत कति छ भनेर मापन गर्ने रहेनछ । त्यही भएर त मैले पनि जिन्स पाइन्ट लगाउँन थालेकी थिएँ । सायद त्यही भएर होला सरोजले त्यो प्रश्न गरेको ।

विस्तारै मैले आफूलाई चिन्न थालेकी थिएँ । त्यहीबेला समाजले मलाई फरक तरिकाले चिन्दै गएछ । समाजले मलाई ७ वर्षअघि सोझी, सिधा, विचरी, लाटी भन्थ्यो । आजभोली बाठी, इज्जत नभएकी जस्ता कुराले सम्बोधन गर्न थालेछ । त्यस समयमा साइकलमा हिड्ने म बाइक चलाउँन थालेकी थिएँ । कहिलेकाहीँ पार्टीहरूमा रक्सि पनि खान्थे । यो सब ममा भएको परिवतर्नले समाजले त मलाई ‘चरित्रहिन’ भनेर पो बुझ्न थालेछ ।

अझ समाजलाई बलियो प्रमाण भेटियो मलाई ‘चरित्रहिन’ भन्नलाई त्यो हो मेरो प्रेम प्रसंग । म एक जना केटा साथीसँग नजिकीन पुगेकी थिएँ । तर हाम्रो सम्बन्ध धेरै टिक्न सकेन ।

ऊ सँगको सम्बन्धले म पूर्णरुपमा मानसिक तनावमा थिए । आफूलाई पहिलाकै अवस्थामा ल्याउन धेरै गाह्रो भइरहेको थियो । ऊ सँगको सम्बन्ध टुटेको एक वर्षपछि मैले नयाँ जीवन सुरु गर्नेबारे फेरि सोचे । म अर्को केटासँग नजिकीन पुगे । यसले मलाई अझ बढी मानसिक तनाव भयो ।

धेरै केटा साथीको देख्थे । दुई तीन वटा केटी साथी नभएको कोही थिएनन् । त्यसमाथी कसैले प्रेम प्रस्ताव अस्वीकार गरेमा त्यसैलाई ‘चरित्रहीन’ हो भन्दै बद्नाम गर्दै हिड्छन् । तर मेरो सवालमा समाज कहाँ उद्दार हुन्थ्यो र । केटीले एकसँग ब्रेकप भएर अर्को केटासँग पुन प्रेम गास्नु उसले अपराध गरेसरह नै हो । त्यही अपराधको सजाय दिँदै समाजले भन्छ ‘क्यारेक्टर लेस केटी’ ।

सायद म पनि ‘क्यारेक्टर लेस केटी’ उपनामले चिनिदै थिए । मैले के नै गल्ति गरेकी थिएँ र ? मलाई चरित्रहीन भन्छौ ? तिमिले धेरै केटी साथी बनाउँदा तिमी चरित्रवान भयौँ । म चाहिँ कसरी चरित्रहीन ? यस्ता प्रश्नको भण्डार नै उब्जियो मेरो मनमा ।

म कतिलाई भन्दै हिँडु । म ‘क्यारेक्टर लेस केटी’ होइन । कतिलाई म सफाइ दिँदै हिँडु ? कतिलाई …..

यही समाजमा छन् । जसले आफ्नै छोरी, बहिनी, दिदीमाथी बलात्कार गर्छन् र समाजमा चरित्रवान पुरुष भएर छाती चौडा पारेर हिँड्छन् । त्यही बलात्कृत दिदी, बहिनीलाई समाजले चरित्रहिन उपनाम दिन्छ र उनी अनुहार लुकाएर बस्न बाध्य हुन्छन् ।

जिन्स लगाउँदैमा, बाइकमा चढ्दैमा । आफ्नो जीवन साथी छान्ने अधिकार खोज्दैमा, काम सकेर राती घरमा आउँदैमा, ब्वाइ फेड्सँग घुम्दैमा, छोटा पहिरन लगाउँदैमा, राती सडकमा हिँड्दैमा, त्यो केटीलाई समाजले ‘क्यारेक्टर लेस केटी’ भन्छ भने हो, हो म स्वीकार गर्छु– म चरित्रहीन केटी हो ।महिला खबरबाट