हिंसाबाट जोगाउन बालिकालाई आत्मरक्षा तालिम - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

हिंसाबाट जोगाउन बालिकालाई आत्मरक्षा तालिम



विशाल पाण्डेय / सुखड,कैलाली ।
महिला हिंसाका घटना बढ्न थालेपछि स्टिम परियोजनाले विद्यालयका बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका -५ चोङ्गालीपुरमा रहेको दरख माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

तालिममा विद्यालयमा अध्ययनरत कक्षा १० का ४५ जना छात्राहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको हो ।

महिला हिंसाका घटना, कुटपिट र जबरजस्ती करणीका घटना बढी भएको हुनाले घटनालाई निरुत्साहित गरि महिलाको आत्मबल बढाउन तालीमको आयोजना गरिएको मर्सिकोरको सिनियर अफिसर पवित्रा चौधरीले बताइन् । उनले ‘महिला हिंसा न्युनीकरण गर्न खेलकुद उत्तम विकल्प हुने भएकोले खेलकुदकै माध्यमबाट घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाएको बताइन् ।

आत्मरक्षा तालिमबाट आफुमा निकै परिवर्तन भएको र हिंसाको बिरुद्धमा बोल्न सक्ने क्षमतामा बृद्धि भएको तालिममा सहभागी घोडाघोडी नगरपालिका- ७ हरिनगरकि निशा जैशीले बताइन् ।

तालिममा सहभागी अर्कि छात्रा रचना चौधरीले अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने, किशोरी मैत्री समाज कसरी बनाउने लगायतका कुराहरु सिकेको बताइन् । उनले यहाँ सिकेको स्टेपहरु घर वरपरका साथीहरुलाई पनि सिकाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा सहभागी छात्राहरु र सरोकारवालाहरु बिच सवाल र जवाफ समेत गरिएको थियो ।

समापन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम रोकायाले आफुहरुले सिकेको सीपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । पछिल्लो समय धेरै हिंसात्मक गतिबिधिहरु भईरहेकोले आत्मरक्षा तालिमले बालिकाहरुको आत्मबल बढे संगै धेरै सहजताको अनुभुती गर्ने धारणा राखे । मानवमा हुने भेदभावका कारण नै बढी हिंसा हुने गरेको बताएउदै अध्यक्ष रोकायाले हिंसा न्यूनीकरणका लागि परम्परागत सोचको अन्त्य गर्दै अभिभावकहरुपनी सतर्क रहनु पर्ने बताए । स्टिम परियोजनाका सहजकर्ता निर्मला चौधरी तथा अरुण विकले छात्राहरुलाई तिन दिनसम्म प्रशिक्षण दिएका थिए ।