हिन्दु धर्म कमजोर थियो बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

हिन्दु धर्म कमजोर थियो बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे



काठमाडौं– धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली हानेर हिन्दु राष्ट्रको आन्दोलन चर्काउने योजना एक वर्षअघि नै बनेको खुलेको छ। पक्राउ परेका उनका सहयोगी लक्ष्मीराज अधिकारीले एक वर्षअघि नै यसबारे छलफल भएको बताएका छन्।

उनै अधिकारीले सुटर माधव चौधरीलाई तयार बनाएका थिए। चौधरीलाई हातमा गोली हान्न निर्देशन दिइए पनि ‘मिसफायर’ हुँदा कुममा लागेको खुलेको छ।

‘हातखुट्टामा गोली हानेर घाइते बनाउने योजना रहेछ’, मोरङका एसपी अरुण बिसी भन्छन्, ‘मिस्टेक्ली कुममा गोली लागेको रहेछ।’

श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। बिहान शौचालयमा जाने क्रममा योजना अनुसार नै गोली प्रहार भएको थियो। योजना अनुसार नै गोली हान्ने चौधरी भागेका थिए। धर्मगुरुका शिष्य लक्ष्मीराज अधिकारीले अरुलाई खबर गरी अस्पताल पुर्‍याएका थिए।

एसपी बिसीका अनुसार, हिन्दु धर्म कमजोर अवस्थामा रहेको भन्दै यसलाई बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे। त्यही योजना अन्तर्गत उनले आफैंमाथि गोली हान्न लगाउने योजना अधिकारीलाई सुनाएका थिए। अधिकारीले गोली हान्ने चौधरीलाई खोजेका हुन्। ‘हिन्दु धर्मका गुरुमाथि गोली हाने’ भनेर आन्दोलन गर्ने र त्यसकै आडमा देशभर हिन्दु धर्मको पक्षमा आन्दोलन गरी हिन्दु राष्ट्रका लागि माहौल बनाउने उनको योजना थियो। तर, उनले घटना लुकाउन सकेनन्।

स्रोतका अनुसार, शिष्य रहेका अधिकारी आत्मसमर्पण गर्ने मनस्थितिमा थिए। महानगरीय अपराध महाशाखा र विशेष ब्युरोको टोलीले गोली हान्ने मकवानपुरका चौधरीलाई तीन दिनअघि चितवनबाट पक्राउ गरेपछि घटना बाहिर आएको थियो। उनकै बयानका आधारमा आचार्य आफैंले गोली हान्न लगाएको खुलेको हो।

चौधरी पक्राउ परेपछि आचार्य थप उपचारका लागि भन्दै सोमबार भारत जाने तयारीमा थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा उनी पक्राउ परेका हुन्।

सुनसरीको बराह नगरपालिकाको चक्रघट्टीस्थित आश्रममा बस्दै आएका आचार्य गोली लागेर अस्पतालमा भर्ना भएपछि उनलाई भेट्न ठूला नेताहरु समेत पुगेका थिए।