ठूलो रकमसहित तीनजना हुण्डी कारोबारी पक्राउ - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

ठूलो रकमसहित तीनजना हुण्डी कारोबारी पक्राउ



काठमाडौं । काठमाडौंको विशालबजारस्थित अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेसनलबाट ३१ लाख ८१ हजार ३८६ रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नयाँदिल्ली घर भइ ठमेल बस्दै आएका ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भइ नक्साल बस्दै आएका ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भइ ताहाचल बस्दै आएका ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत हुण्डी कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

संस्थाको नाममा काटिएको चेकसहित पक्राउ तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाहीका लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ ।