सरकारले नराम्रा काम गरेकै छैन, हेर्नेका आँखा नराम्रा भए: बास्कोटा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सरकारले नराम्रा काम गरेकै छैन, हेर्नेका आँखा नराम्रा भए: बास्कोटा



काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन् ।

सिंहदरबारमा बिहीबार आयोजित नियमति पत्रकार सम्मेलनका क्रममा सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफ दिँदै उनले भने, “सरकारले कुनै पनि नराम्रो काम गरेको छैन ।”

“सरकारले राम्रा-राम्रा काम मात्रै गरेको छ । नराम्रो देख्‍न आँखा नराम्रा हुन् । नराम्रो लेख्‍ने कलमका विषयमा पनि मैले बेलाबेला प्रश्‍न गर्ने गरेका छौं ।”

सरकारले राम्रा काम के गर्‍यो भन्‍ने प्रश्‍नको जवाफमा उनले जनताको भ्रष्टाचारसम्बन्धी सूचांकमा पनि सुधार भएको बताए ।

उनले भने, “डुइङ बिजनेसमा हामी १६ स्थान माथि उक्लेका छौं । लगानीको वातावरण बनिरहेको छ । ह्यापिनेस इन्डेक्समा राम्रो सुधार भएको छ ।

मुलुकमा शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको छ । हामीले ग्लोबल पिस इन्डेक्समा हामी १२ स्थान उक्लेका छौं ।”

उनले अधिनायकवादको हौवाले हावा खाएको दाबी पनि गरे ।

डाक्टरलाई स्पष्टिकरण सोधिने

त्यस्तै सरकारले बिदा स्वीकृत नगराउने तीन डाक्टरलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। बाँस्कोटाले डाक्टरलाई स्पष्टिकरण सोध्ने निर्णय भएको जानकारी दिएका हुन्।

बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित डा. सर्जन ढुंण्डिराज पौडेल, अर्थोपेडिक सर्जन राजेन्द्र सञ्जेल क्षेत्री र विष्णुकुमार पौडेललाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको हो।

११ तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन ढुंण्डिराज नेपाल चिकित्सक संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।

प्रमुख कन्सल्टेन्ट डा. क्षेत्री अर्थोपेडिक सर्जन हुन् भने प्रमुख कन्सल्टेन्ट पौडेल फिजिसियन हुन्।

सरकारले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ बमोजिम स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमार्फत् स्पष्टिकरण सोध्ने निर्णय भएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।