निमित्त वन निर्देशक हेमराजले कसरी कमाए ७ करोड ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

निमित्त वन निर्देशक हेमराजले कसरी कमाए ७ करोड ?



धनगढी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले विष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बिगो कायम गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो। बुधबार आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा निमित्त वन निर्देशक विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको उल्लेख छ।

२७ वैशाख २०५५ मा वन सेवाअन्तर्गत सहायक वन अधिकृत राजपत्रांकित तृतीय श्रेणी ‘प्राविधिक’ पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका विष्ट ६ चैत २०६८ मा जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका थिए।

उनी हाल सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत छन्। सेवा प्रवेश गरेको मितिदेखि १७ कात्तिक २०७७ सम्म उनले सिर्जेको सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कूल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरणमा टेकेर आयोगले मुद्दा दायर गरेको हो।

जाँच यस अवधिमा स्रोत खुल्न आएको उनको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३८ पैसा भएको र उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी २४ करोड २४ लाख ६९ हजार ७०९ रुपैयाँ ९८ पैसा देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

उनको आयभन्दा लगानी ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बढी देखिएकाले गैरकानूनी रूपमा आर्जन पुष्टि भएको अख्तियारको ठहर छ।

विष्टले गैरकानुनी रूपमा आर्जन गरी श्रीमती रुबी जिसी (विष्ट) को नाममा राखेका घरजग्गा तथा बैंक खाताहरूमा रहेको मौज्दात स्रोत पुष्टि हुन नसकेको अख्तियारको आरोपपत्रमा लेखिएको छ। श्रीमती रुबीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गराउने गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।