हेमन्तप्रकाश ओली रिहा हुँदै : वार्ताको संयोजक उनैलाई बनाउने सङ्केत - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

हेमन्तप्रकाश ओली रिहा हुँदै : वार्ताको संयोजक उनैलाई बनाउने सङ्केत



काठमाडौँ – विप्लव समूहका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीलाई सरकारले रिहा गर्ने तयारी गर्दै गरेको खबर बाहिरिएको छ । वार्ताका लागि नख्खु कारागारमा रहेका नेकपामा स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई रिहा गर्नुपर्ने पहिलो सर्त विप्लव समूहले राखेकोले यो तयारी थालिएको स्रोतले जनाएको छ ।

विप्लवले वार्ताका लागि वलीको रिहाइलाई पहिलो सर्त बनाएपछि सरकार उनलाई रिहा गर्ने तयारीमा पुगेको हो । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको मुख्य दोषी भएको आरोपमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको छ ।

विप्लव समूहले वार्ताको संयोजक नै हेमन्तप्रकाश ओलीलाई बनाउने आसय व्यक्त गरेको पनि स्रोतले जनाएको छ ।

हेमन्तलाई केही दिनअघि नेकपा महासचिव विष्णु पौडेलले नख्खु कारागारमै पुगेर भेटेको खबर बाहिरिएको थियो । पौडेललाई प्रधानमन्त्री केपी ओलीले विप्लवसँग वार्ताका लागि आफ्नो दूतका रूपमा खटाएका छन् । यस्तै असन्तुष्ट समूहसँग वार्ता गर्न गठित नेकपा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले पनि विप्लव समूहका एक स्थायी समिति सदस्य स्तरका नेतासँग राजधानिनजिकै अनौपचारिक रूपमा बसेका थिए  ।

सो भेटमा विप्लव समूहले वलीको रिहाई वार्ताको पहिलो सर्त भएको अडान राखेको थियो । अनौपचारिक भेट पछी सिधै प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका पाण्डेले विप्लव समूहको सन्देश सुनाएका थिए । वलीलाई रिहा गर्दा वार्ताको वातावरण बन्ने र विप्लव मुलधारको राजनीतिक प्रक्रियामा आउने सुनिश्चित भए छाड्न तयार रहेको सन्देश प्रधानमन्त्रीले पाण्डेमार्फत नै विप्लवसमक्ष पुऱ्याएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले वलीलाई रिहा गर्ने प्रक्रियाबारे महान्यायाधिवक्ता अग्नि खरेलसँग परामर्श गरेका छन् । विप्लवले सरकारसँगको वार्ताका लागि वलीलाई नै संयोजक तोक्ने अनौपचारिक सन्देश सत्तापक्षलाई पठाइसकेका छन् ।