आज पनि हावाहुरी र असिना पानी पर्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

आज पनि हावाहुरी र असिना पानी पर्ने



मंगलबार देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद्का अनुसार आज देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

दिउँसो ३ बजेपछि देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपालखबरलाई जानकारी दिइन्।

‘दिउँसो ३ बजेपछि या साँझपख पूर्वी भेगका तराई तथा पहाडी क्षेत्र र मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जनसहित वर्षा हुने सम्भावना छ’, उनले भनिन्।

मौसम परिवर्तन हुने क्षेत्रका मानिसलाई बेलैमा सचेतता अपनाउन उनले आग्रह गरिन्। ‘अहिले प्रि मनसुन जारी छ, त्यसैले हावाहुरी, चट्याङ तथा असिनापानीको सम्भावना रहन्छ नै,’ मौसमविद् नगरकोटीले भनिन्।

पश्चिमको पहाडी भेग तथा मध्य क्षेत्रका काठमाडौंलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

पूर्वमा भने तराई तथा पहाडी दुवै भेगमा गड्याङगुडुङ र हावाहुरीसहित पानी पर्ने सम्भावना देखिएको उनले जानकारी दिइन्। ‘अहिले ‘सिस्टम’ पूर्वतिर सरेको छ तर हिजोअस्ती वर्षा भएका ठाउँमा त्यही पानीको वाष्पीकरण भएर पश्चिमी र मध्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्।

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली भइरहेको उनले बताइन्। अहिले यो पूर्व पुगेको छ तर पहिले पानी परेका स्थानमा वाफ उडेर बादल बन्ने भएकाले पश्चिम र मध्य क्षेत्रका निश्चित ठाउँहरूमा वर्षा हुने उनले बताइन्। उनले भनिन्, ‘जस्तै, काठमाडौंका बूढानीलकण्ठ, गोदावरीमा मात्रै पनि वर्षा हुनसक्छ।’