हाउसफुल ‘सुनकेसरी’ मल्टिप्लेक्समा - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

हाउसफुल ‘सुनकेसरी’ मल्टिप्लेक्समा



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको कमेडी हरर फिल्म ‘सुनकेसरी’ ले शनिवार अधिकांश मल्टिप्लेक्समा हाउसफुल कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन बिहानदेखि साँझसम्म ८०-८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको यो फिल्मले शनिबार लगभग शतप्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट प्राप्त छ ।

शुक्रवार र शनिवार यस फिल्मको मल्टिप्लेक्समा एडभान्स बुकिङ आक्रामक थियो । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले यस फिल्मलाई शुक्रवार १५ शो दिएपनि शनिवारका लागि १६ शोज उपलब्ध गराएको थियो ।शनिवार बिहानैदेखि क्यूएफएक्स च्यानलका छायाँ, कुमारी, सिभिल, जय नेपाल, लविङको कुनै पनि शोजमा खाली सिट थिएनन् ।

मोफसलका पोखरा, चितवन, बुटवल, धरानलगायतका हलहरु पनि शनिवार हाउसफुल भएको ऋचा बताउँछिन् । सिंगलभन्दा यो फिल्म हेर्ने दर्शकको संख्या मल्टिप्लेक्समा बढी छ । शनिवार बिहानैदेखि ऋचासहित निर्देशक अर्पण थापा, कलाकार रबिन्द्र झालगायतले राजधानीका हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझे ।

दिउँसो ४ बजे कमलपोखरीको कुमारी हलमा दर्शकसँग साक्षात्कार गर्दैगर्दा भेटिएकी ऋचाले ‘सुनकेसरी’ देशभर हाउसफुल भएको खुसी साटिन् । उनी भन्छिन्, ‘मल्टिप्लेक्समा दर्शकको उपस्थिति उत्साहजनक छ । सिंगलमा शनिवार राम्रो छ । खुसी छु हाम्रो मेहनतलाई दर्शकले रुचाइदिनुभयो ।’ उनले ‘सुनकेसरी २’ निर्माण गर्ने घोषणा समेत गरिसकेकी छिन् । उनी दर्शकको उत्साहजनक साथले ‘सुनकेसरी’ को दोस्रो भाग निर्माण गर्न थप हौसला मिलेको बताउँछिन् ।

फिल्ममा दोस्रो भागका लागि ठाउँ बाँकी राखिएको छ । फिल्म हेरेका अधिकांश दर्शकले कलाकार रविन्द्र झाको कमेडी पाटोलाई औधि रुचाएका छन् । प्रायः दर्शकले फिल्म हेर्दा ‘तर्सिएको कम हाँसेको धेरै’ प्रतिक्रिया दिएका छन् । ऋचाले दर्शकको कमेन्टप्रति आफ्नो ध्यानआकृष्ट भएको बताइन् । उनी भन्छिन्, ‘हाम्रो कमजोरी नै छैन भनेका छैनौं । ‘सुनकेसरी २’ मा त्यो कमजोर हुन नदिने वाचा गर्छु ।’

निर्देशक अर्पण थापा दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई थप जिम्मेवारी महशुस भएको बताए । उता ‘यादवजी’ उर्फ रबिन्द्र झा दर्शक प्रतिक्रिया सुनेर दंग देखिन्छन् । हलमा पुग्दा अधिकांश दर्शक उनलाई देखेपछि सेल्फी खिच्न झुम्मिएका थिए । यस फिल्ममा ऋचा र रबिन्द्रका अलावा भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

तश्बिर : विवेक बस्याल