हतियार नियन्त्रणमा कडाई गर्न भन्दै अमेरिकामा जनलहर - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हतियार नियन्त्रणमा कडाई गर्न भन्दै अमेरिकामा जनलहर



इन्द्र कमल जैरु 

अमेरिकामा बेला-बखत हुने गरेका गोलीकाण्डलाई प्रश्रय दिने हतियार राख्ने अनुमतिलाई कडाई गर्नुपर्ने मागमा वृहत् रैली-प्रदर्शन गरिएको छ। फ्लोरिडाको पार्कल्याण्डस्थित मारजरी स्टोनम्यान डगल्स हाईस्कूलमा १७  जनाको ज्यान जाने गरी भएको गोलावारि घटनाको केही दिनपछि अमेरिकाका विभिन्न स्थानहरूमा हतियार नियन्त्रणमा कडाई गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

हाम्रो जीवनका लागि रैली ( मार्च फर आवर लाइभ्स) नारा राखेर पार्कल्याण्डमा सभा गरिएको छ । विशेषगरि गोलीकाण्डको सिकार भएको हाईस्कूलका विद्यार्थीहरू उपस्थित सभामा विद्यार्थी नेताहरूले हतियारमाथि नियन्त्रण हुनुपर्ने आवाज उठाउँदै आफूहरू यसमा परिवर्तन ल्याउन प्रयास जारी राख्ने बताएका छन् । वाशिङ्ग्टनमा भएको सभामा पार्कल्याण्ड घटनाकी जीवित विद्यार्थी एवं विद्यार्थी नेतृ एम्मा गोन्जालेजले गोलावारि घटनाको बारेमा बताउँदै निकै भावुक भाषण गरेकी थिइन । उनको भाषणले उपस्थित प्रदर्शनकारीलाई पनि निकै भावुक बनाएको थियो ।

यस अलावा अमेरिकाका वाशिङ्ग्टन डिसी, मियामी लगायत देशव्यापी रूपमा रैली प्रदर्शन गरिएका छन् । अमेरिकामा हतियार नियन्त्रण कानुनमा कडाई गर्ने सो रैलीप्रति ऐक्यवद्धता जनाउँदै अन्य देशका एडीनवर्ग, लण्डन, जेनेभा, सिडनी र टोक्योमा पनि गरिदैछन । अमेरिकामा गरिएको प्रदर्शनमा लाखौँको सङ्ख्यामा विद्यार्थीका साथै प्रदर्शनकारी सहभागी रहे ।

फ्लोरिडास्थित विद्यालयमा भएको गोलावारिको घटनापछि विद्यार्थीहरूले सामाजिक सञ्जालमा हतियार नियन्त्रणमा मुद्धामा अभियाननै चलाएका छन्। अमेरिका हतियार राख्न पाउने कानुनका अनुसार विद्यालय लगायतका स्थानमा यस किसिममा गोलावारिको घटना हुने गरेको आम बुझाइछ । त्यसैले पनि हतियार राख्ने कानुनमा नियन्त्रण हुनुपर्ने त्यहाँका नागरिकको माग छ ।