गोंगबुमै हतियारको खरिदबिक्री: दुई पक्राउ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

गोंगबुमै हतियारको खरिदबिक्री: दुई पक्राउ



काठमाडौं- प्रहरीले काठमाडौँको गोंगबुबाट दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो विशेष सुराकीका आधारमा गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई प्रहरीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ६ वटा गोली लाग्ने पेस्तोल बरामद गरेको छ। बा१५च ७५२६ नम्बरको कारको पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा सो हतियार फेला परेको हो।

उनीहरु हतियार व्यवसायी भएको र तराइबाट काठमाडौँमा हतियार सप्लाइ गर्ने कार्यमा संलग्न रहेको प्रहरीको अनुमान छ।

पक्राउ परेका मध्ये पासवान गाडी चालक र साह गेस्ट हाउसका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान बढाएको प्रहरीले जनाएको छ।