हातेमालोद्वारा गरिब तथा विपन्नलाई लत्ताकपडा वितरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हातेमालोद्वारा गरिब तथा विपन्नलाई लत्ताकपडा वितरण



दिल्ली। भारतको राजधानी दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले क्रिस्मसको अवसर पारेर मङ्गलवार गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण कार्यक्रम सम्पन्न गरेको छ।

‘ सहयोग गर्नु भनेको दान गर्नु मात्र होइन, यो त परिवर्तनका लागि पनि हो ’ भन्ने मूल नाराका साथ लत्ताकपडा सङ्कलनबाट सुरुवात गरिएको सो कार्यक्रम लक्ष्मीनगरमा रही सिए अध्ययन गरिरहेका विद्यार्थीहरूको साथै दिल्लीको अन्य विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। विशेषता नोभेम्बर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ। सोही कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सङ्गठनका सचिव रोशन कुमार यादवले जानकारी दिए।

कार्यक्रमका संयोजक आशिष कुमार बराल अनुसार विभिन्न विद्यार्थी एवं सहयोगी उदार मनबाट सङ्कलन गरिएका ५२२ थान लत्ताकपडाहरूलाई हातेमालोका प्रतिनिधि साथीहरूले दिल्लीको कश्मिरी गेटको हनुमान मन्दिर परिसरमा ४१७ थान बाँडेका थिए भने १०५ थान लत्ताकपडाहरूलाई लक्ष्मीनगर वरपरका ठाउँहरूमा वितरण गरिएको थियो । उक्त लत्ताकपडा पाएका व्यक्तिहरूका मुहारमा धेरै पछि खुसी पलाएको देखेर आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गर्नका लागि आफूलाई प्रेरणा मिलेको उनको प्रतिक्रिया थियो।

सहानुभूतिमा मात्र सीमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो भन्ने मन्त्र नेपालीहरूले सदैव आत्मसात् गर्दै आएको र त्यसको प्रत्यक्ष उदाहरण प्रवासमा रहेर पनि हाम्रो यस अभियानमा हातेमालो गर्दै सहयोग गर्न अगाडी लम्किनु भएको सम्पूर्ण प्रति हातेमालो परिवार कृतज्ञ रहेको सङ्गठनका अध्यक्ष सरोज सुवेदीले बताए । “हातेमालो नेपाली विद्यार्थी समूह” विद्यार्थीहरूको हकहितका कार्यक्रमहरूका साथसाथै अन्य सामाजिक कार्यहरूमा पनि विगत लामो समय देखि निरन्तर रूपमा क्रियाशील रहँदै आएको छ।