हारको जिम्मा भट्टराईले लिएनन् : खिमलाल देवकोटा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

हारको जिम्मा भट्टराईले लिएनन् : खिमलाल देवकोटा



काठमाडौं, साउन १५  ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक खिमलाल देवकोटाले स्थानीय तहको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मा पार्टी संयोजक डा. बाबुराम भट्टराईले लिन नसकेको आरोप लगाएका छन् ।

उनले तत्कालीन एमाओवादीले ०७० सालको संविधानसभा निर्वाचनमा हार व्यहोर्दा भट्टर्राइलगायतले पार्टी अध्यक्ष प्रचण्डको राजीनामा मागेको स्मरण गरेका छन् ।

देवकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टिकरण दिँदै भनेका छन्, ‘चुनावी परिणामलाई लिएर ०७० सालमा अध्यक्ष प्रचण्डको राजीनामा मागियो । उहाँले दिनुभएन अनि बाबुरामजीको नेतृत्वमा म समेतले नयाँ शाक्तिको खाँचो महसुस गरयौँ र अघि बढ्यौँ । अहिले त्यस्तै स्थिति आयो । नैतिक जिम्मा सयोजकका नाताले बाबुरामजीले नै लिनुपथ्र्यो। तर लिनुभएन । अरुको त कुरै भएन उल्टो पदाधिकारी बनाउन कस्सिनुभो र त्यसपछि मैले पार्टीको तर्फबाट जिम्मा लिनुपर्छ भनेर प्रवक्ता पद परित्याग गरेँ ।’

उनले आफूले पार्टी भने नत्यागेको स्पष्ट पारेका छन् । आफ्नो राजीनामाको जानकारी संघीय परिषद्को बैठकलाई गराइदिन आग्रह गर्दा डा. भट्टराईले अस्वीकार गरेको भन्दै उनले दुखेसो पोखेका छन् । ‘बाबुरामजीलाइ मेल गरी मेरो पत्र बैठकमा सुनाउनुहुन्छ कि मै सर्वजनिक गरौँ भनेपछि बल्ल बैठकमा जानाकारीसम्म गराउनुभएछ, तर राजीनामा पत्र बाचन गरिदिनुभएनछ । त्यसले साथीहरू झन द्विविधामा परेको महसुस भयो ।’ उनले आफू पदका भोगीहरूलाई पद दिँदै साधारण सदस्य भएर वैकल्पिक राजनीतिक अभियान र नयाँ शक्ति निर्माण अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।