समस्यामा परे हर्क साम्पाङ - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

समस्यामा परे हर्क साम्पाङ



काठमाडौं । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ लेखेको प्रति आयोगको ध्यानाकर्याण भएको जनाउदैँ यस्तो आग्रह गरेको हो ।

कुनै पनि जातप्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न आयोगले अनुरोधसमेत गरेको छ ।

‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ’, आयोगका अध्यक्ष देवराज विश्वकर्माले वुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।